
घाटामा आहा रारा गोल्डकप
पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औं संस्करणमा आयोजकलाई घाटा भएको छ। प्रत्येक संस्करणमा नाफा कमाउँदै आएको आयोजक सहारा क्लब पोखराले यो पटक तीन लाख ४७ हजार आठ सय घाटा खाएको छ।
सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा विभिन्न प्रायोजन तथा संघसंस्थाबाट कूल आम्दानी ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ भएको र खर्च ६९ लाख ८९ हजार रुपैयाँ भएको जनाएको छ।
कोभिड–१९ को संक्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएकाले प्रतियोगितामा आयोजकले घाटा बेहोुर्नपरेको हो।
साहरा हङकङ, साहरा युके र साहरा अस्ट्रेलिया क्लबलाई आर्थिक सहयोग गरेकाले घाटा कम भएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि सहारा हङकङले पाँच लाख एक हजार, सहारा युकेले तीन लाख र सहारा अष्ट्रेलियाबाट एक लाख रुपैयाँ सहयोग गरेको थियो।
प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषदबाट पाँच लाख, राष्ट्रिय खेलकुद परिषदबाट चार लाख ९२ हजार रुपैयाँ दिएका थिए ।
यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म २० औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।