आहा रारा गोल्डकपको उपाधिका लागि मनाङलाई एपिएफको चुनौती
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको उपाधिका लागि ए डिभिजन क्लबद्वय मनाङ मर्स्याङदी र विभागीय टिम एपिएफ भिड्दै छन्। यी दुई बीचको उपाधि भीडन्त शनिबार दिउँसो पोखरा रंगशालामा हुने छ।
मनाङले प्रतियोगिताको उपाधि सर्वाधिक ६ पटक जितेको छ भने एपिएफले अहिलेसम्म उपाधि जित्न सकेको छैन । उ दोस्रो पटक फाइनल खेल्दै छ।
सेमिफाइनलमा मनाङले आर्मीलाई हराएको थियो भने एपिएफले मछिन्द्रको चुनौती समाप्त पारेको थियो।
फाइनल खेलअघि आज आयोजना गरिएको ‘फ्रिम्याच कन्फ्रेन्स’ मा टोलीका प्रशिक्षकले उपाधि उचाल्ने दाबी गरे। मनाङका प्रशिक्षक फुजा टोपेले विपक्षी टोलीको प्रदर्शन राम्रो बन्दै गएको बताउँदै आफूहरु उपाधिका लागि खेल्ने बताए।
एपीएफका प्रशिक्षक कुमार थापाले मनाङ बलियो टोली भए पनि आफूहरु उपाधि जित्दै इतिहास बनाउने गरी फाइनल खेल्ने बताए। उनले भने,‘कोरोना महामारीका बीचमा पनि भव्य प्रतियोगिता आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिन चाहन्छौँ। यस अवसरको उपयोग गर्दै उपाधि चुमेर इतिहास रच्ने योजनामा छौँ।’
गोल्डकपको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार नगद पुरस्कार पाउनेछन्।
प्रतियोगितामा संकटा क्लब‚ नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए सहभागी थिए।