
नेपाली खेलाडी विदेशिँदा चिन्तित छन् अल्मुताइरी, सरकारलाई दिए यस्तो सुझाव
पछिल्लो समय नेपाली खेलाडीहरु विदेशिने क्रम बढेपछि नेपाली खेलकुदको भविष्यलाई लिएर राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चिन्ता व्यक्त गरेका छन् । अल्मुताइरीले समाजिक सञ्जाल फेसबुकमार्फत खेलाडीहरु विदेशिने क्रम बढेसँगै खेलकुदको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका हुन्।
पछिल्ला केही महिना यता आधा दर्जन बढी फुटबलर विदेशिएका छन्। शुक्रबार मात्र राष्ट्रिय टिमका सदस्य विमल राना अस्ट्रेलिया गएका थिए। शुक्रबार नै टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पनि अस्ट्रेलिय गएको खबर आएको थियो।
यो वर्ष नै राष्ट्रिय टिमका नियमित सदस्य स्ट्राइकर दर्शन गुरुङ, आशिष लामा र मिडफिल्डर सुमन लामा तथा सन्तोष गुरुङ र नवीन गुरुङ पनि अस्ट्रेलिया गएका थिए।
मुख्य प्रशिक्षक अल्मुताइरीले खेलकुदको भविष्य बचाउन नेपाल सरकारलाई आग्रह गरेका छन्। ‘म विनम्रता पूर्वक आग्ह गर्छु, नेपाली खेलदको भविष्य बचाउन तत्कालै केही गर्नुस्,’ अल्मुताइरीले लेखेका छन्।
आफ्नो भविष्य सुरक्षित गर्न खेलाडी विदेशिएको विषयमा आफू खेलाडीलाई आरोप लगाउने पक्षमा नरहेको अल्मुताइरीले बताएका छन्।
अल्मुताइरीले खेलकुदको भविष्य बचाउन रोडम्याप बनाउन पनि आग्रह गरेका छन्। उनले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र खेल संघलाई नेपाली खेलकुदको रोडम्याप बनाउनका लागि तत्कालै ५–७ जनाको कमिटी बनाउन अग्रह गरेका छन्।
कुवेतमा एसिया कप छनोट खेलेपछि अल्मुताइरी उतै बसेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्व परिवर्तन भएसँगै अल्मुताइरीको भविष्य संकटमा परेको थियो।