प्रशिक्षक अलमुताइरी भन्छन्– एउटा पेनाल्टीले खेल बदल्यो

विश्वकप र एसया कपको दोस्रो चरणको छनोटमा सहभागी हुन यतिवेला नेपाली टिम कुवेतमा छ । विश्वकप र एसया कपको दोस्रो चरणको छनोटका घरेलु मैदानमा लागि तय भएका तीन खेल कुवेतमा सारिएपछि कुवेत पुगेको नेपाली टिमले तीमध्ये २ खेल खेलिसकेको छ।

नेपालले चाइनिज ताइपेइ र जोर्डनसँग खेलिसकेको छ । ताइपेइसँग ३ जुनमा खेलेको नेपालले सोमबार राति जोर्डनसँग खेलेको थियो । ताइपेइविरुद्ध २–०को जित निकालेको नेपाल जोर्डनसँग ३–०ले पराजित भयो।

नेपालविरुद्ध जोर्डनले पेनाल्टी गोलमार्फत अग्रता लियो । त्यसपछि जोर्डन खेलमा हावी भएको थियो । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले त्यही एक पेनाल्टीले खेलमा परिवर्तन ल्याएको बताएका छन् । खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक अलमुताइरीले पेनाल्टी नभएको भए खेलको नतिजा फरक हुन सक्ने बताए ।

‘हामीले राम्रो खेल्यौँ । पहिलो हाफमा एउटै गल्ती भनेको पेनाल्टी दिनुभयो । सायद त्यो पेनाल्टी नभएको खेल खेलको नतिजा फरक हुन सक्थ्यो । त्यसपछि जोर्डनले धेरै आराम पाएर खेल्यो र गोल थप्यो,’ अलमुताइरीले भने ।

अलमुताइरीले हारको दोष आफूले लिने भन्दै खेलाडीलाई दोष नदिन पुनः अग्रह गरे । ‘हारको सबै दोष मेरो हो । म फेरि भन्छु खेलाडीलाई कुनै दोष नदिनुस् । हामीले उत्कृष्ट प्रदर्शन गरेका हौं,’ उलने भने, ‘आउने दिनमा हाम्रो खेलमा अझ सुधार हुनेछ । हामीले आजको खेलमा जति पनि गोल खायौं, ती सेट पिसमा भएका थिए ।’

अब नेपालले विश्वकप छनोटका आफ्नो अन्तिम खेल अस्ट्रेलियाविरुद्ध सन्तुलित फुबटल खेल्ने उनले बताए । उनले भने, ‘अस्ट्रेलियाविरुद्ध हामी सन्तुलित खेल खेल्नेछौं । म अस्ट्रेलियाविरुद्ध इराकको जस्तो हार बेहोर्न चाहन्नँ । हामी पराजित रहे पनि गर्वले खेल्नेछौं ।’

नेपालले अस्ट्रेलियासँग ११ जुनमा खेल्ने छ।

Facebook Comments Box