राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किए अल्मुताइरी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी टिमको प्रशिक्षणमा फर्किएका छन्। गत आइतबार सामाजिक सञ्जालबाट राजीनामा दिने घोषणा गरेयता उनले राष्ट्रिय टिमलाई प्रशिक्षण दिएका थिएनन्।

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङलाई दोष दिँदै फेसबुकमार्फत् राजीनामा घोषणा गरेका थिए। नेम्बाङका कारण काम गर्ने वातावरण नभएको भन्दै उनले राजीनामा दिने घोषणा गरेका थिए। यद्यपी, उनले एन्फासमक्ष आधिकारिक राजीनामा भने दिएनन्।

राष्ट्रिय टिम सम्हालेयता नेपाली फुटबल समर्थकको प्रिय बन्न सफल अल्मुताइरी पछिल्लो समय विभिन्न विवादमा आइरहेका छन्। दुई पत्रकारले विवादमा मुछिरहेको बेला अल्मुताइरी वरिष्ठ उपाध्यक्ष नेम्बाङसँगको विवादले पनि चर्चामा आएका छन्।

अलमुताइरीले दुवै विवादमा छानबिन गर्नुपर्ने माग गर्दै एन्फामा निवेदन दिइसकेका छन्। हाल एन्फाले नेम्बाङसँगको विवाद छानबिन गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ।

अल्मुताइरीले छानबिन सकिएपछि मात्र प्रशिक्षणलाई थप अगाडी बढाउने बताएका छन्। खेलाडीहरुको दुई टिमबीचको मैत्रीपूर्ण खेल भएकाले मात्र उपस्थिति जनाएको बताउँदै अल्मुताइरीले छानबिन सकिएपछि मात्रै प्रशिक्षणमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।

एन्फाले पनि त्यही मौकामा खेलाडीलाई आराम दिने निर्णय गरेको छ। लामो समयदेखि बन्द प्रक्षिक्षणमा रहेका खेलाडीलाई आराम गर्न तथा आफन्त–परिवारसँग भेट गर्न केही समय दिएको एन्फाले जनाएको छ।

खेलाडीको आराम गर्ने समय सकिँदासम्म मन्त्रालयको छानबिन सकिएर विवाद पनि टुंगो लागिसक्ने एन्फाले विश्वास लिएको छ।

Facebook Comments Box