मेरो समर्थन नगरे हुन्छ, तर खेलाडीलाई सपोर्ट गर्नुस् : प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जेठ ४ गते बन्द प्रशिक्षणमा सहभागी ३२ खेलाडीबाट २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरे। उनले विश्वकप छनोटका ३ खेल र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि खेलाडी छनोट गरेका थिए।

जेठ १ गतेमात्र सकिएको नेपाल सुपर लिगको प्रदर्शनका आधारमा प्रशिक्षक अलमुताइरीले जेठ ३ गते सोमबार ३२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरे।

राष्ट्रिय टिमको प्रारम्भिक छनोट भएको २ दिन अघिमात्र धनगढीलाई हराउँदै काठमाडौं रेजर्स च्याम्पियन बनेको थियो। तर, त्यही च्याम्पियन टिमका खेलाडीले नै राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा स्थान बनाउन सकेनन्। रेजर्सका विकेश कुथु, संजोग राई, तेज तामाङ र विश्वास श्रेष्ठ टिममा अटाउन असफल भए।

च्याम्पियन टिमका खेलाडीलाई नसमेटेपछि प्रशिक्षक अलमुताइरीको व्यापक आलोचना भयो। सामाजिक सञ्जालमा उनलाई धेरैले गाली गरे। कतिपयले त उनको प्रशिक्षण क्षमता र करिअरमै प्रश्न समेत गरे।

३२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको भोलिपल्टै ४ गते प्रशिक्षक अलमुताइरीले विश्वकप छनोट र इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय अन्तिम टिम घोषणा गरे। अन्तिम टिममा रञ्जित धिमाल र भरत खवासलाई समेत स्थान नदिएपछि प्रशिक्षक अलमुताइरीको चर्को आलोचना भयो।

राष्ट्रिय टिम छनोटको विषयमा व्यापक टिकाटिप्पणी भएपछि प्रशिक्षक अलमुताइरीले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै स्पष्टिकरण दिए। उनले नेपालको खेलको राम्रोसँग अध्ययन गरेर टिम घोषणा गरेको प्रतिक्रिया दिए। आफ्नो निर्णयको आलोचना भएपछि उनले खेलाडीलाई नभई नेपाली टिमलाई सपोर्ट गर्नु पर्ने धारणा व्यक्त गरे। साथै उनले भविष्यलाई हेरेर टिम निर्माण गरेको पनि बताए।

प्रशिक्षक अलमुताइरीले स्पष्टिकरणको उनकै शब्दमाः

अहिले अन्तिम छनोटमा परेका मात्र होइन सबै खेलाडीको प्रशिक्षण जारी छ। अन्तिम २३ मा परेको, ३२ मा परेको, ४५ मा परेको वा सर्टलिस्टमै नपरेको खेलाडी किन नहोस्, सबैजना तयार रहन आवश्यक छ। त्यसैले सबैले प्रशिक्षण गरिरहेका छन्। भर्खरै एनएसएल खेलेकाले धेरै खेलाडीहरु थाकेका पनि छन्। उनीहरुलाई छनोट प्रतियोगितासम्ममा पूर्णरुपमा फिट हुन आरामको आवश्यकता छ।

खेलाडीको पोजिसनमा हेरफेर हुन्छ

फुटबलमा यस्तो नियम छैन कि कुनै खेलाडीले डिफेन्डरका रुपमा खेल्न सुरु गरेको छ भने उसले बाँचुन्जेल डिफेन्डरकै रुपमा खेल्नुपर्छ। धेरै युवा खेलाडी छन्, उनीहरुको क्षमता अनुसार नयाँ पोजिसनमा खेलाउन सकिन्छ। मैले खेलाडीको पोजिसन हल्का परिवर्तन गर्ने जमर्को गरेको छु। तीनचार जना खेलाडीको पोजिसन फेरेर डिफेन्डर, मिडफिल्डर वा फरवार्डको भूमिका दिनेछु। गोलकिपरचाहिँ फेर्न मिल्दैन, अन्य पोजिसनमा भने हेरफेर हुनेछ।

खेलाडीसँग क्षमता छ, तर अनुभव छैन

रवि पासवानलाई टिममा किन नराखेको भनेर मलाई धेरैले सोध्नुभएको छ। म आज त्यसको कारण खुलाउँछु– रविलाई कसैले पनि बल कसरी क्रस गर्ने सिकाएकै छैन। उनलाई बल पाउना साथ अगाडी दौडन मात्र भनिएको छ, र, उनी त्यसै गर्छन्। बल पायो कि लिएर दौडिहाल्छन्।

तर, अब अगाडि पुगेपछि के गर्ने ? त्यो त कसैले सिकाएकै छैन, केही भनेकै छैन। अहिले उनी कुन अवस्थामा कता र कसरी बल अगाडी बढाउने, क्रस कसरी दिने भनेर सिक्दैछन्। हामीसँग धेरै कुशल र क्षमतावान खेलाडी छन्। तर उनीहरुलाई असल प्रशिक्षण र अनुभवको खाँचो छ। उनीहरुलाई आफू मैदानमा कहाँ छु, अब कता जाने भन्नेसमेत थाहा छैन।

हामी अचेल हरेक दिन साढे एक घण्टा इराक, ताइवानलगायत हरेक टिमको खेल हेर्छौं। खेलाडीहरुले स्कुल कलेजमा जस्तै पढ्ने गरेका छन्। तर, खेल पढ्छन् र ती खेलहरुको विश्लेषण गर्छन्। त्यो खेल हेरेर कुन खेलाडी कुन अवस्थामा कहाँबाट कता गयो, बल गुम्दा खेलमा के फरक पर्‍यो र बल पाउँदा के भयोलगायतका कुराको विश्लेषण गरेर टिपोट गर्छन्। मसँग यहाँ एक खात कागज छन्, ती सबै खेलाडीले दैनिक खेल हरेर गरेको विश्लेषणको टिपोट हो।

खेलाडीहरुले हरेक दिन धेरै मिहीनेत गरिरहेका छन्। सबैजनाले सक्दो प्रयास गरिरहेका छन्। आफ्नो कमजोरी र सबल पक्ष पहिचान गर्दै आफुलाई थप अब्बल बनाइरहेका छन्। तर, बाहिर फलानो खेलाडी छनोट भयो, ढिस्कानो किन भएन, यो खेलाडी टिममा नपर्दा त्योचाहिँ कसरी प¥यो भनेर जुवारी खेलिरहेका छन्। अनेक प्रश्न उठाइरहेका छन्।

काठमाडौं रेजर्सका कुनैपनि खेलाडी किन परेनन् ?

मलाई काठमाडौं रेजर्ससँग कुनै समस्या छैन। काठमाडौंका कोच बालगोपाल महर्जनलाई म सम्मान गर्छु, टिमका म्यानेजर र अन्य सबै पदाधिकारीप्रति पनि मेरो सम्मान छ। तर, मसँग काठमाडौं रेजर्सका कुनैपनि खेलाडीलाई अन्तिम टिममा सामेल नगर्नुका कारण छन्।

विकेश कुथु प्रतियोगिता खेलेर धेरै थाकेका छन्। जब उनी थाक्छन्, सधैं सिल्ली मिस्टेक गर्ने गर्छन्। उनलाई आफ्नो खेलमा फर्किन आरामको आवश्यकता छ, त्यसैले उनलाई टिममा राखिनँ। तेज तामाङ्गको औंला भाँचिएको छ। इराक र कुवेतमा हुने खेलमा उनलाई अझ ठूलो चोट लाग्यो भने के गर्ने ? उनको परिवारलाई मैले के जवाफ दिने ? इराक र कुवेतमा हुने खेल खेलाडीको ज्यानभन्दा ठूलो हो तपाईंहरुका लागि ? म अनाहकमा एउटा कुशल खेलाडी गुमाउन चाहन्नँ।

यस्तै, संजोग राई पनि घाइते छन्। उनको लिगामेन्टमा समस्या छ। उनले थप एक महिना आराम नगरी बल छोए भने उनले भविष्यमा कहिल्यै फुटबल खेल्न सक्दैनन्। एक–दुईवटा प्रतियोगिता सिंगो भविष्यभन्दा महत्त्वपूर्ण हुँदैन, त्यसैले उनले आराम गर्नै पर्छ।

काठमाडौंका विश्वास श्रेष्ठ त मेरा फेबरेट लेफ्टब्याक हुन्। उनलाई टिममा राख्न मलाई एकदमै मन थियो। तर, उनको अनुशासनहीनताका कारण मैले टिममा सामेल गरिनँ। तपाईंले काठमाडौं र विराटनगरबीचको खेल हेर्नुभयो होला। खेलको ५०औं मिनेटमा विराटनगरका कोचले टचलाइनबाट थ्रोका लागि बल विश्वासलाई दिए, उनले बल फ्याँकिदिए र टचलाइमै रहेको पानीको बोतल उठाएर कोच उभिएको ठाउँमा हिर्काए।

खेलपछि मैले उनलाई यो खेलाडीको असल आचरण होइन, तिमिले यसको सजाय भोग्नुपर्छ। उनले गल्ती गरेका थिए, अहिले त्यसको मूल्य चुकाइरहेका छन्। यो उनका लागि राम्रो पाठ हो।

यो सबैले सिक्नैपर्ने कुरा हो। तपाईं नेपालका लागि खेलिरहनु भएको छ र नेपालको प्रतिनिधित्व गरिरहरनु भएको छ। मलाई खेलाडीको उमेर र उसको अनुहार राम्रो छ कि छैन भन्ने कुरामा मतलब छैन। यदि तपाईंमा अनुशासन छैन, आचरण राम्रो छैन भने तपाईंलाई मेरो टिममा कहिल्यै स्थान हुनेछैन।

त्यसपछि सबैभन्दा बढी चर्चा ललितपुरका डिफेन्डर निरज बस्नेतलाई सामेल नगरेकोमा उठेको थियो। मेलै उनलाई स्पष्ट रुपमा भनेको छु, यदि तिमी वार्मअपमा सिरियस छैनौं, मेहतन गर्दैनौं भने प्रतियोगितामा कदापि सिरियस हुन सक्दैनौं। खेलाडीको असल परिचय प्राक्टिस र वार्मअप सेसनबाटै देखिन्छ। प्रशिक्षणमा खेलाँची गर्ने खेलाडीले प्रतियोगितामा स्थान पाउँदैन। मैले उनलाई जुलाईसम्मको समय दिएको छु। जुलाईसम्ममा मलाई खेलप्रतिको लगाव र सिरियसनेस देखाउ भनेको छु।

जुलाईसम्ममा तपाईं र खेलाडीहरु सबैजना खुशी हुनेछन्, धैर्य गर्नुहोस्। राष्ट्रिय टिमका २३ जनामा परेका, ३२ जना, ४५ जना सबै खेलाडी खुशी हुनेछन्। हरेकको आफ्नै भूमिका छ, जिम्मेवारी छ, अनुशासन छ। उनीहरुलाई यो सबै थाहा पनि भइसकेको छ।

अब परिवर्तनको समय आएको छ

धेरैले नानाथरी टिकाटिप्पणी गरिरहेका छन्। अनेक आरोप लगाएका छन्, विभिन्न प्रश्न तेर्स्याएका छन्। मलाई कसले के भन्छन् भन्ने कुराले फरक पार्दैन। तर, ताजुब भने लागेको छ– उनीहरु किन यस्तो भनिरहेका होलान् ? अहिले धेरैले भनिरहेका छन् कि यो मैले छनोट गरेको टिम अस्ट्रेलियासँग ६–०ले हार्छ। यो सन्दर्भमा म नेपालको इतिहास स्मरण गराउन चाहन्छु, नराम्रो लागेको खण्डमा माफ गर्नुहोला।

तपाईंहरुले कतिवटा खेल जित्नुभएको छ? नेपालले कतिवटा प्रतियोगिता जितेको छ? नेपालले अस्ट्रेलियासँग खेलेको पछिल्लो खेल ५–० ले हारेको थियो। त्यही हो तपाईंहरुले फेरि पनि चाहेको नतिजा? पहिले हार्दा चलेकै थियो, अब हार्दा चाहिँ के हुन्छ?

आजलाई होइन, भविष्यलाई हेर्नुहोस्। हामीले अब परिवर्तनको सुरुवात गर्नुपर्छ। रिस्क लिनुपर्छ। फ्यानहरु सधैं भावनामा बहकिनुहुन्छ, मलाई उहाँहरुप्रति धेरै गुनासो छैन। तर, पत्रकार तथा सञ्चारकर्मीहरुले मेरो कुरा बुझ्नुपर्छ।

अस्ट्रेलियासँग ५–० ले हारेको टिमकै कुरा गरौं। त्यो खेलमा खेलाडीहरुको औसत उमेर कति थियो? ३१ वर्ष। अहिले मैले छनोट गरेको टिमको औसत उमेर कति छ ? २३ वर्ष। मैले छनोट गरेको टिमले यसपालि हारेछ भनेपनि खेलाडीहरुले धेरै कुरा सिक्छन्। सिकेको कुरा भविष्यका खेलमा लागू गर्नेछन्। अबको दुई वर्षपछि नेपालले आफ्ना खेलहरु जित्न सक्नेछ। अहिलेका खेलाडीहरुले जिताउन सक्नेछन् किनकि उनीहरुसँग उमेर छ।

सायद त्यसबेलासम्म म नेपालको प्रशिक्षक नरहुँला। अरु नै कोही कोच आउला। तर, यस्तै नियम र अनुशासनमा खेलेको खण्डमा नेपालले जित्नेछ। नेपाल च्याम्पियन बन्न सक्नेछ।

नाम कमाउन नेपाल आएको होइन

मलाई मेरो नामको मतलब छैन। मैले अहिले प्रशिक्षण गरेर तत्काल नतिजा चाहिएको पनि छैन। मैले प्रशिक्षण गरेको टिमको स्तरमा सुधार आए पुग्छ। मलाई नाम कमाउनु थियो, नतिजा चाहिएको थियो वा च्याम्पियन बन्नु थियो भने म तुर्किमिनिस्तान जान्थेँ होला। नेपालको टिम सम्हाल्न किन आउँथे ? आखिर एसिया कपमा छनोट हुने नेपालको भन्दा तुर्किमिनिस्तानको सम्भावना बढी छ।

कृपया तपाईंहरु सबैजना आफ्नो राष्ट्रिय टिमको समर्थन गर्नुस्, हौसला बढाउनुस्। सबै खेलाडीहरुको एकमत छन्, उनीहरुको एउटै नारा छ– वान टिम, जय नेपाल। तर, मिडियाहरु त खेलाडीलाई लिएर कुस्ती खेलिरहेका छन्। मलाई यो फिटिक्कै मनपरेको छैन। मलाई तपाईंहरुको यस्तो हर्कतले दुःखी बनाएको छ, म अपसेट छु तपाईंहरुसँग।

खेलाडीबीच तुलना गरेर मनोबल गिराउने काम नगर्नुस्

मिडियाले सबै खेलाडीलाई समर्थन गर्नुपर्छ, सबै अफिसियललाई समर्थन गर्नुपर्छ। बरु मलाई सपोर्ट नगर्नुस्, केही छैन। आफ्ना खेलाडीको भने हौसला बढाइदिनुस्। उनीहरुबीच समस्या खडा नगर्नुस्, खेलाडीहरुको एकआपसमा तुलना नगर्नुस्।

किन तुलना गर्नुहुन्छ तपाईंहरु ? मैले टिममा छनोट नगरेका खेलाडी को हुन् ? लियोनल मेसी हुन् कि क्रिस्टियानो रोनाल्डो हुन् ? हाम्रा सबै खेलाडी एउटै स्तरका छन्। सबैलाई बराबर समर्थन गर्नुहोस्। कसैको कसैसँग तुलना नगर्नुहोस्।

तपाईंलाई कुनै एउटा खेलाडी बढी मनपर्छ भने त्यो तपाईको व्यक्तिगत समस्या हो, नेपालको समस्या होइन। नेपाली राष्ट्रिय टिमको समस्या होइन। हाम्रा लागि सबै खेलाडी बराबर छन्। तपाईंले एकआपसमा तुलना गर्दा मेरा खेलाडी निराश भएका छन्। यसरी उनीहरुको मनोबल गिराउने काम नगर्नुहोला।

केबल तीन महिना धैर्य गर्नुस्, तीन महिना पर्खिनुस्। सकारात्मक सुधार आउने नै छ। मलाई तीन महिनाभन्दा बढी समय चाहिँदैन।

Facebook Comments Box