
झापा गोल्डकपको फाइनल हेर्न अल्मुताइरी विर्तामोड जाने
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी झापा गोल्डकपको फाइनल हेर्न मैदानमै उपस्थित हुने भएका छन् । सोमबार हुने झापा–११ र त्रिभुवन आर्मीबीचको फाइनल हेर्न अल्मुताइरी आउने झापा आउने तय भएको आयोजकले जनाएको छ।
आयोजक समिति सदस्य सचिन सुब्बाले फाइनल हेर्न पाउनका लागि अल्मुताइरीको हवाई टिकट नै फिक्स भइसकेको बताए ।
पाँचौँ संस्करणको झापा गोल्डकपको फाइनलमा घरेलु टोली झापा–११ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । दुवै टिम राष्ट्रिय खेलाडीले भरिभराउ छ । अल्मुताइरीले आफूले प्रशिक्षित गरेका खेलाडीको खेल गोल्डकपमा पनि हेर्नेछन् ।
झापा गोल्डकपको फाइनलमा आर्मी र झापाको यो चौथो भेट हो । यसअघि तीनवटै भेटमा आर्मीले झापाको उपाधि उचालेको छ । उसले दोस्रो, तेस्रो र चौथो संस्करणको झापा गोल्डकपमा उपाधि उचालेको थियो । यता, झापा भने हरेक संस्करणमा फाइनल पुगेपनि उपाधिबाट वञ्चित हुँदै आएको छ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ ।