३७ वर्षीय पोुर्चगिज सुरस्टार क्रिस्टियानो रोनाल्डो कतारमा छन् । र, पाचौं विश्वकप खेलिरहेका छन्। रोनाल्डोकै नेतृत्वमा रहेको पोर्चुगले आज क्वार्टरफाइनलका प्रवेशका लागि आज राति १२ः४५ स्वीट्जरल्यान्डसँग खेल्दै छ।
विश्वभर नै रोनाल्डोका थुप्रै फ्यान छन्, र उनीहरु रोनाल्डोको खेल हेर्न मरिहत्तै गर्छन्। त्यस्तैमध्ये एक हुन्, नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अभिषेक रिजाल ।
उनी कतारमा जारी विश्वकपमा पनि रोनाल्डो र पोर्चुगलको समर्थनमा छन् । आफ्नो टिमलाई समर्थन गर्न पाएकाले रमाइलो भइरहेको उनी बताउँछन्।
‘म उनको डाइहार्ट फ्यान हुँ, र उनी मेरो आइडल रोनाल्डो हुन्। उनले विश्वकप जितेको हेर्ने ठूलो इच्छा छ,’ अभिषेक भन्छन्।
पोर्चुगल समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित हुँदा अभिषेकलाई खासै नराम्रो लागेन् । ‘कोरियासँगको त्यो खेलअघि नै पोर्चुगल नकआउट पुगिसकेकाले खासै नराम्रो लागेन, त्यो एसियन टिमसँग हारेको थियो,’ उनले आफ्नो फेवरेट टिम पराजित हुँदा पनि दुःखी नहुनुको कारण खुलाए।

रोनाल्डोको लगनशीलता र मेहनतले आफू उत्प्रेरित हुने उनले महसुस गरेका छन् । कतार विश्वकमा रोनाल्डोले १ गोल मात्रै गरेको छन्, योसँगै उनी विश्वकपका ५ संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। खेलाडीको प्रदर्शन सँधैं एकनासको नहुने बताउँदै रोनाल्डो यो उमेरमा पनि प्रभावशाली भएको अभिषेक बताउँछन्।
‘पोर्चुगलको टिममा खेलाडी नभएर रोनाल्डो टिममा परेका होइनन्। उनी हुनु र नहुनुले फरक धेरै पर्छ। त्यसैले प्रशिक्षकले उनलाई पहिलो रोजाइमा राखेका हुन्,’ उनले भने।
अभिषेकलाई रोनाल्डो र लियोनल मेसी फाइनलमा भिडेको हेर्न मन छ। उनी भन्छन्, ‘पोर्चुगल र अर्जेन्टिनाले फाइनल खेलेको हेर्न मन छ। विश्व फुटबलका दुई महान खेलाडी हुन्, रोनाल्डो र लियोनल मेसी। त्यसैले फुटबलको सबैभन्दा ठूलो मञ्चमा उनीहरू दुई जना आमनेसामने हुन् भन्ने लागेको हो।’