अफ्रिदी भन्छन्- नेपालीहरुको क्रिकेटप्रतिको मायाले इपिएल खेल्न उत्साहित बनायो

पाकिस्तानी भेट्रान अलराउन्डर ‘बुम बुम अफ्रिदी’ अर्थात् साहिद अफ्रिदीले नेपाली फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा एभरेस्ट प्रिमियर लिगले खेल्ने भएका छन्। आगामी असोजमा हुने प्रतियोगता उनले काठमाडौं किंग्स ११ बाट खेल्ने छन्।

काठमाडौंले सोमबार एका कार्यक्रम गर्दै अफ्रिदीलाई आइकोनिक खेलाडीकारुपमा सार्वजनिक गरेको छ। कार्यक्रममा अफ्रिदीले लाइभ मार्फत आफू इपिएल खेल्न उत्साहित भएको बताए ।

‘म आजसम्म नेपाल आएको त छैन। तर, त्यहाँ गएर क्रिकेट खेल्न उत्साहित छु’, उनले भने । उनले नेपालीहरुको आतिथ्यता र सत्कार सबैभन्दा राम्रो हुन्छ भन्ने सुनेको र आफूलाई त्यो अनुभव गर्न मन लागेको बताए ।

अफ्रिदीले भने, ‘नेपालीहरुको क्रिकेटप्रतिको मायाले पनि मलाई ईपीएलमा खेल्न उत्साहित बनाएको हो। त्यसैले काठमाडौं किंग्ससँग जोडिएँ।’

‘नढाँटी भन्नुपर्दा, मैले नेपाली क्रिकेटको बारेमा खासै सुनेको छैन,’ नेपाली क्रिकेटका बारेमा खासै नसुकेको बताउँदै ४४ वर्षीय अलराउन्डर अफ्रिदीले भने, ‘तर, नेपालीहरु क्रिकेटलाई लिएर अत्यन्तै ‘क्रेजी’ छन् भन्ने चाहिँ मलाई थाहा छ।’

कार्यक्रममा अफ्रिदीले सकेसम्म धेरै छक्का प्रहार गर्दै नेपाली क्रिकेट प्रेमीलाई खुसी दिन सक्दो प्रयास गर्ने बताए । ‘आफूले कति छक्का प्रहार गर्नसक्छु, त्यो त पिचको अवस्था, मलाई कस्तो बल आउँछ भन्ने कुरामा भर पर्छ,’ उनले भने, ‘तर म सकेसम्म धेरै छक्का प्रहार गर्ने योजनामा हुनेछु, र नेपाली क्रिकेटप्रेमीलाई खुसी दिन चाहन्छु।’

Facebook Comments Box