मेसी भनेका मेसी हुन्, उनीजस्तो अरु कोही छैनः पिएसजीका मालिक अल–खेलाइफि

अर्जेन्टाइन स्टार लियोनल मेसी लिग वानको सर्वाधिक सफल क्लब पीएसजीमा आबद्ध हुने चर्चा लामो समयदेखि चलिरहेको छ । यो सिजनको समाप्तीसँगै मेसीको बार्सासँगको सम्झौता सकिएको छ ।

सम्झौता सकिएसँगै मेसीले बार्सा छाडेर पिएसजी जाने चर्चा झन चुलिएको छ । सम्झौता सकिएपनि बार्साले अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर अगुएरोलाई आबद्ध गरेपछि भने मेसीले बार्सा छाड्ने सम्भावना कम भएको छ । तर, सम्भावनालाई पूर्ण रुपमा नकार्न भने सकिन्न ।

युरोपियन क्लब फुटबलमा ट्रान्सफरको गरमागरमी सुरु भएसँगै पिएसजीका मालिक नासेर अल–खेलाइफिले मेसी र पिएसजीको ट्रान्सफर रणनीतिका बारेमा धारणा व्यक्त गरेका छन् ।

सबै उत्कृष्ट खेलाडीलाई पिएसजीबाट खेल्ने मन भएको अल–खेलाइफिले दाबी गरेका छन् । उनले मेसीको ट्रान्सफरका बारेमा केही दाबी नगरेपनि उनको खुले प्रशंसा गरे ।

मेसीको ट्रान्सफरका बारेमा के भने ?

मेसीको पुरानो सम्झौता सकिनै लागेको छ र उनले सम्झौता नवीकरण गरिसकेका छैनन् । यसले पिएसजीलाई मात्र होइन मेसीलाई आबद्ध गर्न चाहने हरेक टिमलाई उनीसँग सहमति गरेर अर्को सिजन आफ्नो टिममा भित्र्याउने अधिकार दिएको छ ।

‘मेसी पिएसजी आउँछन् कि आउँदैनन् भन्ने विषयमा म अहिल्यै केही भन्न सक्दिनँ । सबै उत्कृष्ट खेलाडी पिएसजी आउन चाहन्छन् । हामीसँग पहिल्यैदेखि धेरै उत्कृष्ट खेलाडी छन् । यसै नयाँ खेलाडी थपेको थप्यै गर्न पनि मिल्दैन,’ उने बताए ‘र, मेसी भनेका मेसी हुन् । उनीजस्तो उत्कृष्ट खेलाडी अरु कोही छैन ।‘

कस्तो छ मेसीको आगामी सिजनको समिकरण ?

मेसी अर्को सिजन जुनसुकै क्लबमा गएपनि उनले अहिलेभन्दा कम पारिश्रमिक पाउनेछन् । उनलाई यो सिजन बार्साले दिएजति पारिश्रमिक अर्को सिजन कसैले दिन सक्दैन ।

बार्सा आफैले त झन् दिनै सक्दैन । बार्सा अहिले एक बिलियन यूरोको ऋणमा डुबेको छ । अर्थात्, हाल बार्साको ऋण १ खरब ४१ अरब ७३ करोड ५७ लाख नेपाली रुपैयाँभन्दा बढी छ । त्यसैले मेसीले बार्सासँगको आफ्नो सम्झौता नवीकरण गरेको खण्डमा उनले अहिलेभन्दा निकै कम पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ ।

त्यसैले, आर्थिक हिसाबमा हेर्ने हो भने मेसीका लागि पिएसजी जानु नै फाइदाजनक देखिन सक्छ । तर, मेसी अझै दामभन्दा पनि नामकै पछाडी देखिन्छन् । अगुएरोको आगमनसँगै उनी यो सिजन बार्सामै रहेर सन्न्यास लिनु अघि फेरि एकपटक च्याम्पियन्स लिग जित्ने ध्याउन्नमा छन् ।

पिएसजी र फाइनान्सियल फेयर प्ले

अल-खेलाइफिले युइएफएको फाइनान्सियल फेयर प्ले पोलिसि (एफएफपी) लाई अनावश्यक भनेर टिप्पणी गरेका छन् । हाल कोभिड-१९ को महामारीले निम्त्याएको आर्थिक संकटको समयमा एफएफपी अव्यावहारिक नियम रहेको उनले बताएका छन् ।

‘सबैलाई थाहा छ कि सबै क्लबहरुलाई घाटा लागिरहेको छ । यो महामारीको समयमा एफएफपी निकै वाहियात कुरा हो । यो समयमा विश्व फुटबलले ८ बिलियन डलरको हाराहारीमा घाटा बेहोरिसकेको छ,’ उनले बताए ।

‘एफएफपीले लगानीलाई निषेध गर्नु हुँदैन । हामीले चाहेको के हो ? मान्छेहरुले फुटबलमा लगानी गरुन् कि अरु खेलमा गरेको राम्रो ? मलाई त सबैले फुटबलमा लगानी गरुन् जस्तो लाग्छ,‘ अल-खेलाइफिले भनेका छन् ।

‘त्यसैले एफएफपीका नियमहरु संशोधन हुनुपर्छ । युइएफएले यस बारेमा पुनर्विचार गर्नैपर्छ,‘ उनले थपे ।

Facebook Comments Box