ब्राजिलियन गोलकिपर एलिसन विश्वकै महँगा गोलकिपर

ब्राजिलका गोलरक्षक एलिसन बेकर विश्वकै सर्वाधिक महँगा गोलरक्षक बनेका छन् । इटालियन क्लब एएस रोमामा व्यावसायिक फुटबल खेल्दै आएका एलिसनले इंग्लिस क्लब लिभरपुलसँग ७३ मिलियन युरोमा सम्झौता गरेपछि उनी विश्वकै महँगा गोलरक्षक बनेका हुन् ।

दुई सिजन रोमामा बिताएका एलिसन ब्राजिलियन क्लब इन्टरनेसिओनलबाट ७.५ मिलियन युरोमा रोमा आएका थिए । गत सिजन रोमा च्याम्पियन्स् लिगको सेमिफाइनलसम्म पुग्दा एलिसनले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

रोमाका लागि ३६ खेल खेलेका एलिसन सन् २०१५ देखि नियमित ब्राजिलको पोस्ट सम्हालिरहेका छन् । उनले ब्राजिलबाट ३१ खेल खेलेका छन् । भर्खरै सम्पन्न विश्वकपमा ब्राजिल क्वार्टरफाइलनबाटै बाहिरिए पनि एलिसनले उत्कृष्ट प्रदर्शन गरेका थिए । २१औं विश्वकपका ५ खेल खेलेका उनले ३ क्लिनसिट राखेका थिए भने ३ गोल मात्र खाएका थिए ।

लिभरपुलसँग ६ वर्षको सम्झौता गरेका २५ वर्षीय एलिसनले लिभरपुलसँगको सम्झौता आफ्नो जीवन र करिअरमा ठूलो फड्को भएको बताएका छन् ।

ब्राजिलकै इडर्सनलाई पछाडि पारे एलिसनले
७३ मिलियन युरोमा लिभरपुलमा आवद्ध हुँदै सर्वाधिक महँगो गोलरक्षक भनेका एलिसनले ब्राजिलकै एडर्सनलाई पछाडि पारेका छन् । एडर्सन ब्राजिलका दोस्रो रोजाईका गोलरक्षक हुन् ।

२४ वर्षीय एडर्सन यअसघि सर्वाधिक महँगा गोलरक्षक थिए । उनी पोर्चुगिज क्लब बेन्फिकाबाट ३५ मिलियन युरोमा इंंग्लिस क्लब म्यान्चेस्टर सिटीमा आएका थिए । बेन्फिकामा दुई सिजन बिताएका उनले ५६ खेल खेलेका छन् । २०१६/०१७ को सिजन बेन्फिकाका लागि च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि एडर्सन सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको नजरमा परेका थिए ।

इटालीका लिजेन्डरी गोलरक्षक जियानलुइजी बुफोन तेस्रो महँगो गोलरक्षक हुन् । सन् २००१ मा इटालियन क्लब युभेन्टसले बुफोनका लागि पार्मालाई ३३ मिलियन युरो तिरेको थियो । १७ सिजन युभेन्टसमा बिताएका बुफोन यो सिजन इटालियन क्लबसँगको कन्ट्र्याक्ट सकिएपछि फ्रि ट्रान्सफरमा फ्रेन्च क्लब पिएसजीमा आबद्ध भएका छन् । बुफोनले गत वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । बुफोनले पार्माका लागि २ सय २० र युभेन्टसका लागि ६ सय ५६ खेल खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP