प्रशिक्षक अलमुताइरीले किन गरे एक्कासी राजीनामा दिने घोषणा?

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा दिने बताएका हुन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण राजीनामा दिन लागेको बताएपनि स्पष्ट कारण भने उल्लेख गरेका छैनन्। वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने आरोपको खण्डन गरेका छन्।

मुख्य प्रशिक्षकलाई आफु वा एन्फाका कुनै पदाधिकारीसँग केही समस्या भएको अवस्थामा प्रक्रियामार्फत् अगाडी बढेर कारबाहीको दायरामा ल्याउनु पर्ने धारणा व्यक्त गर्दै सामाजिक सञ्जालबाट हल्ला गर्नु व्यावसायीक नभएको उनले बताएका छन्।

एन्फाले गत चैतमा अलमुताइरीलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको थियो। उनको नेतृत्वमा ३ खेल खेलेको नेपालले एक जित र दुई हारको नतिजा निकालेको छ।

केही दिनअघि एक अनलाइन मिडियाले अलमुताइरीलाई अपशब्द प्रयोग गरेको आरोप लगाउँदै कारबाहीको माग गरेको थियो। अलमुताइरीको निजी मामलामा प्रश्न उठाउँदै विभिन्न संघमार्फत् उनलाई माफी माग्न दबाब दिइँदै आएको थियो। त्यही सेरोफेरोमा आएको अलमुताइरीको राजीनामाले विभिन्न कोणबाट ध्यानाकर्षण भएको छ।

ठोस कारण अहिलेसम्म नखुेलेपनि प्रशिक्षक अलमुताइरी र एन्फाबीच असमझदारी रहेको भने उनको घोषणाबाट प्रष्ट भएको छ। त्यसैबीच मिडिया र पत्रकार सम्बद्ध विभिन्न संघबाट अनावश्यक रूपमा अनेक दबाब पनि आएको थियो।

पछिल्लो समय नेपालका फुटबल समर्थकबीच लोकप्रिय बन्दै फुटबलमा नयाँ आशा लिएर आएका अलमुताइरीको राजीनामा घोषणाले सामाजिक सञ्जालमा धेरैको ध्यान खिचेको छ। अधिकांश समर्थक भने उनको घोषणाले दुःखी हुँदै एन्फालाई नै दोष दिइरहेका छन्।

Facebook Comments Box