महिला विश्वकपको सर्वाधिक सफल टिम अमेरिका अन्तिम १६बाटै बाहिरिएको छ। आइतबार भएको खेलमा स्वीडेनसँग पेनाल्टी सुटआटमा ५–४ले पराजित भएपछि ४ पटकको च्याम्पियन अमेरिका अन्तिम १६बाटै बाहिरिएको हो।
आइतबार अस्ट्रेलियाको मेलवर्नस्थित रेक्टाङ्गुलर स्टेडियममा भएको खेल निर्धारित र थप गरिएको ३० मिनेटको समयमा कुनै गोल नभएपछि पेनाल्टीमा गएको थियो।
पेनाल्टीमा स्वीडेनका लािग लिना हुर्टिङ, माग्डालेन इरिक्सन, हाना बेनिसन, इलिन रोबेन्सन र फ्रिडोलिना रोल्फोले गोल गर्दा रिबेका ब्लोमविस्ट र नान्थालिया बिजोर्नले गोल गर्न असफल भएका थिए।
यस्तै, अमेरिकाका लागि एलिसा नाहेर, क्रिस्टेइ मेविस, लिन्ड्सी होरान र एन्डी सुलिभानले गोल गर्दा केली ओहारा, सोफिया स्मिथ र मेगन रापिनो गोल गर्न असफल भए।
विश्वकपका यसअघिका सबै संस्करणमा सेमिफाइनल पुगेको अमेरिका पहिलो पटक सेमिफाइनल पुग्न असफल भयो। अमेरिका लगातार २ खेलमा गोल गर्न असफल भएको र लागतार तीन खेल जित्त नसकेको यो पहिलो पटक हो।
यता, स्वीडेनले पहिलो पटक महिला विश्वकपमा पेनाल्टीमा खेल जितेको हो। यसअघि सन् १९९५मा स्वीडेन चीनसँग पराजित भएको थियो।