
ए डिभिजन क्लब र एनएसएल विवादबारे छलफल गर्न एन्फाले बनायो कार्यदल
नेपाल सुपर लिग (एनएसएल) र ए डिभिजन क्लबबीचको विवादका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले सात सदस्यीय कार्यदल गठन गरेको छ ।
बिहीबार सम्पन्न एन्फाको १८औं कार्यसमिति बैठकले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजनमा कार्यदल गठन गरेको हो । शुक्रबार एनएसएल आयोजनाबारे ए डिभिजन क्लबहरुसँग छलफल गर्ने एन्फाले जनाएको छ ।
पछिल्लो समय ए डिभिजन क्लबले रिलिज नै नगरी आफूहरूका खेलाडीलाई एनएसएलका लागि अक्सनमा राखेकोमा आपत्ति जनाउँदै आएका छन् । केही दिनअघि थ्रीस्टार, एनआरटी, मनाङ मर्स्याङ्दी र संकटाले पत्रकार सम्मेलन नै गरेर आफूहरुमाथि षडयन्त्र हुन लागेको बताएका थिए ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले चैत २६ देखि दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी गरिरहेको छ । लिगमा १० फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
बैठकले निर्वाचन निर्देशिका परिमार्जन गरी चैत १५ गते एन्फाको विशेष साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन २०७९ वैशाख १ देखि १० गतेसम्म गर्ने निर्णय गरेको पनि एन्फाले जनाएको छ ।