‘सी’ डिभिजन छनोटः ज्वरो मात्र नापेर एन्फाको ‘हदैसम्मको स्वास्थ्य सतर्कता’ !

⦿ निर्वान झापाली

अहिले एन्फा कम्प्लेक्स सातदोबाटोमा सी डिभिजन लिग छनोट प्रतियोगिता चलिरहेको छ। देशभरका ७८ टिम सहभागी प्रतियोगिताबाट तीनवटा टिमले सी डिभिजन लिगमा स्थान बनाउने छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने फुटबल प्रतियोगिताहरु काठमाडौं केन्द्रित भएर मोफसल ओझेलमा परेको आरोप लागिरहँदा सी डिभिजनको छनोट पनि काठमाडौंमै आयोजना भएको छ। देश संघीयतामा गएपनि एन्फा केन्द्रिकरणकै मोड्युलमा छ। फलतः बागमती प्रदेशबाहेक अन्यत्रको सहभागिता नगन्य रुपमा छ।

प्रतियोगितामा प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दुई–दुई टिम सहभागी छन् भने प्रदेश १ का ७ टिमले सहभागिता जनाएका छन्। बाँकी ६१ टिम बागमती प्रदेशका छन्।

अहिले अधिकांश क्लबका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकसहित केही प्रतिनिधि काठमाडौंमा छन्। एन्फाले हरेक टिमले कम्तिमा १८ जना खेलाडी, एकजना म्यानेजर र एकजना प्रशिक्षक दर्ता गर्नुपर्ने बताएको छ। यसर्थ, ७८ क्लबका दुई हजार बढी व्यक्ति छनोट प्रतियोगिताका लागि काठमाडौंमा छन्। धेरै आइसकेका छन् भने ढिलो खेल हुने टिमहरु आउने क्रममा छन्।

एक वर्षभन्दा बढी भयो कोभिड–१९ महामारीले विश्व आक्रान्त बनेको। नेपाल पनि त्यसबाट अछुतो छैन। नेपालले कोभिड–१९ महामारीको दोस्रो लहर देखिसकेको छ भने केही समययता तेस्रो महामारी टार्न संघर्षरत छ।

यो महामारीमा स्वास्थ्य सतर्कता अपनाएर छनोट प्रतियोगितामा सहभागी सबै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुको सुरक्षा एन्फाका लागि प्रमुख चुनौती हुनेछ। महामारीलाई नै देखाएर खेलकुदका प्रतियोगिता नगर्नु पनि उचित हुँदैन। महामारीपछिको ‘न्यू नर्मल’मा अभ्यस्त हुँदै विश्वका अधिकांश देशमा विभिन्न प्रतियोगिता घरेलु लिगहरु आयोजना भइसकेका छन्।

युरोपियन लिगहरु चलिरहेका छन्। तर, प्रश्न लिग गर्ने नगर्ने होइन, लिग गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड केकति अपनाइयो र खेलाडीलगायत सहभागी सबैको सुरक्षाका लागि के गरिँदैछ भन्ने हो। अनि प्रश्न हो, के त्यसमा एन्फा खरो उत्रिएको छ कि झारा टार्ने काम मात्र गरिरहेको छ?

सी डिभजिन लिग छनोटमा आफूहरुले हदैसम्मको सुरक्षा अपनाएको दाबी एन्फाका लिग कमिटी निर्देशक सञ्जीव मिश्रले गरेका छन्। संक्रमणको खतरालाई मध्यनजर गर्दै एन्फाले दर्शकको सहभागिताविना सी डिभिजन छनोट आयोजना गरिरहेको छ।

‘योभन्दा सुरक्षित तरिकाले प्रतियोगिता गर्ने ठाउँ नै छैन। हामीले ‘जिरो अक्कुपेन्सी’मा छनोट खेल गरिरहेका छौं, यसले संक्रमणको सम्भावना एकदमै न्यून बनाएको छ,’ सबैखेलसँग मिश्रले प्रतियोगितालाई सुरक्षित बनाइएको दाबी गरे।

यसबाहेक एन्फा कम्प्लेक्सको गेटमा खेलाडीको ज्वरो नापेर मात्र प्रवेश गर्न पाइने पनि मिश्रले बताए। लगभग सबै खेलाडीहरुले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइसकेको र धेरैले दोस्रो डोज पनि पूरा गरेको मिश्रको भनाइ छ।

एन्फाको लिग कमिटीका निर्देशक मिश्रले कोरोनाविरुद्ध हदैसम्मको सतर्कता अपनाएको दाबी गरेपनि यथार्थमा त्यो झारो टार्ने खालको मात्र छ। मैदानको गेटमा ज्वरो नापेर कोभिडविरुद्धको सतर्कता अपनाइएको भन्नु एन्फाले खेलाडीलगायतको स्वास्थ्यमा गरेको ठूलो खेलवाड हो। यसले कोरोनाको जोखिम झन उच्च बनाएको छ। के कोरोना संक्रमण हुने सबैलाई ज्वरो आउँछ? ज्वरो मापन कोरोना संक्रमण पहिचान गर्ने अचुक उपाय हो?

दुई हजारबढी व्यक्ति प्रत्यक्ष सहभागी हुने प्रतियोगिताको आयोजक एन्फालाई ति व्यक्ति कहाँ, कसरी बसिरहेका छन् त्यसको जानकारी छ? प्रतियोगितामा सहभागी कसैलाई पनि एन्फाले सुरक्षित रुपमा बस्ने व्यवस्था गरेको छैन। उपत्यका बाहिरका क्लब आफैंले जसोतसो होटलमा बसिरहेका छन् भने काठमाडौं केही क्लबहरु घरबाटै प्रतियोगिता खेल्न सातदोबाटो पुगिरहेका छन्। अनि एन्फाले कसरी भन्न सक्छ प्रतियोगितामा कोभिड–१९को सतर्कता हदैसम्मको अपनाइएको छ भनेर?

एन्फाको अर्को तर्क छ– लगभग सबै खेलाडीले खोप लगाइसकेका छन्। तर, खोपले स्वास्थ्य जोखिममात्र न्यूनिकरण गर्ने हो, संक्रमण रोक्ने होइन। न त गेटमा थर्मल गनले ज्वरो नापेर नै कोरोनाविरुद्धको सतर्कता पूरा हुन्छ। पहिलो लहरको संक्रमणबाटै स्थापित र साबित वैज्ञानिक मान्यता हो कि कोरोनाभाइरसको संक्रमण लक्षण देखिने र नदेखिने दुवै किसिमको हुन्छ। कसैमा लक्षण नदेखिने कारोनाभाइरसको संक्रमण भएको रहेछ भने एन्फाको थर्मल गनले कसरी पत्ता लगाउला?

सी डिभिजन लिग छनोट खेल्ने सबै खेलाडीले कोरोनाविरुद्धको खोप लगाएको एन्फाले बताएको छ। तर यो सम्भव छैन, किनभने सी डिभिजन लिग छनोट लिग छनोट खेल्ने धेरै क्लबमा १८ वर्षमूनिका खेलाडी पनि छन्। र, नेपालमा अहिलेसम्म १८ वर्षमूनिका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइएको छैन। अनि एन्फाले कसरी दाबी गरिरेको छ कि सबै खेलाडीले खोप लगाएका छन् ? हदैसम्मको सतर्कता अपनाइएको छ भनेर? कि एन्फाले सी डिभिजन लिग छनोट १८ वर्षमाथिकाले मात्र खेल्न पाउने नियम बनाएको छ?

अन्तर्राष्ट्रियस्तरमा भइरहेका प्रतियोगिताहरुमा खेलअघि सहभागी खेलाडी, प्रशिक्षकसहित टिमका अन्य प्रतिनिधिहरुको पीसीआर परिक्षण अनिवार्य गरिन्छ। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र खेल्न र प्रशिक्षण गर्न पाइन्छ।

एन्फाले पनि आफ्नो नियमावलिमा ४८ घण्टा अगाडीको पीसीआर रिपोर्ट आवश्यक पर्ने उल्लेख गरेको छ। यद्यपी, लिग कमिटी निर्देशक मिश्र स्वयंले खोप लगाएका खेलाडीको पीसीआर रिपोर्ट चेक नगरिएको बताएका छन्। अधिकांश खेलाडीले खोप लगाएका कारण पीसीआर परीक्षण अनिवार्य नगरिएको मिश्रको तर्क छ। गेटमा थर्मल गनले ज्वरो नापेकै भरमा एन्फाले कोरोनाविरुद्ध ‘हदैसम्मको सुरक्षा सतर्कता’ अपनाइएको हास्यास्पद दाबी गरिरहेको छ।

एन्फाले स्वास्थ्य सुरक्षाको मुख्य सतर्कतामा हेल्चेक्र्याइँ गरेपनि ड्रेसिङ रुममा भने सह्रानीय काम गरेको छ। फिक्स्चरअनुसार हरेक दिन सी डिभजन छनोटका तीनवटासम्म खेल हुन्छन्। एन्फा लिग कमिटीले हरेक खेलपछि ड्रेसिङ रुमलाई सफा गरेर सेनिटाइज गर्ने गरेको छ। यसले संक्रमणको सम्भावनालाई न्यूनिकरण गर्न केही हदसम्म सहयोग गर्नेछ।

स्वास्थ्य भनेको संवेदनशील चिज हो। एउटा पक्षमा मात्र सजग रहेर पूर्ण रुपमा सुरक्षित भइँदैन। त्यसमाथि खेलाडी त सधैं स्वस्थ र फिट रहनुपर्दछ। खेलाडी वा टिम स्वास्थ्य सतर्कतामा संवेदनशील नभएको खण्डमा एन्फाले त्यसको नियमन गर्नुपर्छ। तर, यहाँ एन्फा नै खेलाडीको स्वास्थ्यलाई लिएर संवेदनशील भएको देखिँदैन।

एन्फा फुटबलको जिम्मेवार निकाय हो, झारो टार्ने निकाय होइन। जिम्मेवार एन्फाको जिम्मेवारी बहन गरिरहेको एन्फा नेतृत्व र सम्बन्धित समितिले काम पनि जिम्मेवार ढंगले गरोस्।

Facebook Comments Box