एन्फाले बढायो खेलाडीको भत्ता

अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीदेखि अफिसियलको दैनिकभत्ता बढाउने भएको छ । एन्फाले उमेर तथा सिनियर टोलीका खेलाडीलाई दैनिक जनही ३५ डलर दिने घोषणा गरेको छ ।

यसअघि खेलाडी र अफिसियलले दैनिक २० डलर प्राप्त गर्दै आएका थिए । खेलाडी र अफिसियलको समान १५ डलर दैनिक भत्ता बढेको हो । एक कार्यक्रमबीच एन्फाकअध्यक्ष कर्माछिरिङ शेर्पाले आर्थिक कार्यविधि सार्वजनिक गरेका हुन् ।

अध्यक्ष शेर्पाले विभिन्न राष्ट्रमा हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका सदस्यहरूले खेल सुरु हुनु २ दिनअघि र र खेल समाप्त भएको १ दिनपछि पनि दैनिक ३५ डलर भत्ता पाउने जानकारी दिएका छन् ।

यसैगरी, एन्फाले गठित विभिन्न समितिको बैठकमा काठमाडौंमा बाहिर जिल्लाबाट आउने समितिका संयोजकलाई पनि दैनिक २ हजार ५ सय भत्ता दिने भएको छ । अन्य पदाधिकारीलाई बैठक हुनुभन्दा एक दिनअगाडि र एक दिनपछाडिसम्म दैनिक भत्ताबापत २ हजार दिने एन्फाले जनाएको छ ।

यसैबीच एन्फाले सोमबार आर्थिक नियमावलीमा रेफ्रीहरुको समेत दैनिक भत्ता बढाएको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सञ्चालन गर्ने चार रेफ्रीको पनि दैनिक भत्ता वृद्धि गरेको हो ।

नयाँ आर्थिक नियमावलीअनुसार ए डिभिजन सञ्चालन गर्ने दैनिक चारजना रेफ्रीले प्रतिखेल १० हजार रुपैयाँ पाउनेछन् । यसैगरी, नकआउट फुटबल सञ्चालन गर्ने रेफ्रीले ए डिभिजनअनुसार नै रकम पाउनेछन् ।

बी डिभिजन लिग सञ्चालन गर्ने प्रत्येक खेलका चार रेफ्रीलाई प्रतिखेल ६ हजार रुपैयाँ प्रदान गरिनेछ । सी डिभिजनका रेफ्रीले ४ हजार ५ सय रुपैयाँ पाउनेछन् । यता महिला फुटबल प्रतियोगिताका रेफ्रीहरूले प्रतिदिन ६ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

राष्ट्रिय वा विभिन्न उमेर समूहका टोलीको प्रशिक्षणनिमित्त संघबाट खटाइएका संघबाट नियमित तलब नखाने प्रशिक्षकमध्ये एक प्रमुख प्रशिक्षकलाई दैनिक १ हजार २ सय भत्ता उपलब्ध गराइने भएको छ ।

यसैगरी, सहायक प्रशिक्षकलाई दैनिक आठ सय दिइने भएको छ । त्यस्तै, कार्यरत जिल्लाबाहेक अन्य जिल्लामा जाने प्रशिक्षकका हकमा एक दिनअगाडि र एक दिनपछाडिसम्मको भत्ता एन्फाले उपलब्ध गराउनेछ । उनीहरूले बसोवास तथा खाना खर्चबापत दैनिक दुई हजार पाउनेछन् ।

एन्फाले फुटबलको कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय बैठक, सेमिनार, गोष्ठी, सभा, सम्मेलन, तालिममा सहभागी हुने केन्द्रीय पदाधिकारीलाई एकपटकको २ सय डलर उपलब्ध गराउने भएको छ । यसमा भिसाशुल्क, हवाई भाडा र बिमा शुल्कबाहेक समावेश नरहने एन्फाले जनाएको छ । यसैगरी, जिल्लाका पदाधिकारी, कर्मचारी, प्रशिक्षक, रेफ्रीले विदेशमा जाँदा एकमुष्ठ सय डलर पाउनेछन् ।

फिफा तथा एएफसीबाट प्राप्त आर्थिक रकम छुट्टाछुट्टै बैंक खातामा राख्ने अध्यक्ष शेर्पाले बताए । यसबाहेक आवश्यक परे कार्यसमितिले निर्णय गरेर थप खाता सञ्चालनमा ल्याउन सक्ने उनले बताए ।

एन्फाले कोष तथा खाताको व्यवस्थापनका लागि दुई खाता सञ्चालनमा ल्याउनेछ । संघले स्थापना गरेको कोषमा सरकार, राष्ट्रिय खेलकुद परिषद्, संघ–संस्थाले दिने उपहार, चन्दा, प्रायोजनबापत प्राप्त हुने रकम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्राप्त हुने रकम व्यवस्थापन गर्नेछ ।

कार्यालयको दैनिक कार्य सञ्चालनका लागि सानो नगदी कोष स्थापना गर्ने एन्फाले जनाएको छ । कुनै शीर्षकमा रकम अपुग र बढी भए आर्थिक समितिले २५ प्रतिशतमा नबढाई रकमान्तर गर्न सक्ने एन्फाले जनाएको छ ।

एन्फाले १ लाखसम्मको कार्य दरभाउपत्र नलिई सोझै गर्न सक्नेछ । १ लाखभन्दा माथि १० लाखसम्मको आर्थिक कारोवार गर्दा ३ किसिमको दरभाउपत्र (कोटेसन) आह्वान हुनुपर्नेछ । यसैगरी, १० लाखभन्दा माथिमा कम्तीमा ५ प्रतिस्पर्धीबाट बोलपत्र आह्वान हुनुपर्नेछ ।

साथै, खरिद समिति र निर्माण समितिसमेत बनाउने एन्फाले जनाएको छ । साथै, एन्फाले नियमावली फिफा र एएफसीसँग बाझिन गएमा स्वतः निष्क्रिय हुने जनाएको छ ।

एन्फा अध्यक्ष शेर्पाले आर्थिक पारदर्शिताका लागि नियमावली कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले भने, ‘हामीले आर्थिक रोडम्याप बनाउन सफल भएका छौँ । अब एन्फा यही नियमावलीअनुसार चल्छ ।’

उनले अब आर्थिक नियमावली लागू भएसँगै हरेक कुराको रेकर्ड हुने जानकारी दिए । ‘एन्फा वैज्ञानिक पद्धतिअनुसार नै अगाडि बढेको छ,’ उनले भने, ‘हामीले ९ कात्तिकमा भएको साधारणसभाबाट एन्फाको आर्थिक कार्यविधि पारित गर्दै कार्यान्वयनमा ल्याएका हौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *