फेसबुकबाट भ्रम फैल्याउँदै एन्फा अध्यक्ष [फ्याक्ट चेक]

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले मंगलबार दिउँसो २:१६ बजे एउटा फोटो शेयर गरे । फोटो थियो नेपालको फुटबल र्‍याङकिङको स्क्रिनसट।

कुनै क्याप्सनबिना शेयर गरिएको फोटोमा नेपाल फिफा १७१औं स्थानबाट उक्लिएर १६८औं स्थानमा पुगेको देखाइएको छ । शेर्पाले पोस्ट गरेको स्क्रिनसटमा नेपालले ४.३४ पोइन्ट थप्दै ९७२.२३ पोइन्टका साथ ३ स्थान माथि चढेको देखाइएको छ ।

[कर्मा छिरिङको फेसबुक पोस्ट]

सो पोस्टमा थुप्रै व्यक्तिले नेपालको फिफा र्‍याङकिङ सुधार भएको मान्दै उनलाई बधाई पनि दिइरहेका छन् । २०० भन्दा बढीले सो पोस्टलाई सेयर गरिसकेका छन् ।

एन्फा अध्यक्षले पोस्ट गरेको स्क्रिनसटमा नेपालभन्दा माथि १६७औं स्थानमा बर्मुडा छ भने एक स्थान तल १६९औं स्थानमा क्यारेबियन राष्ट्र बेलिज छ । उनले पोस्ट गरेको सो स्क्रिनसट फिफा र्‍याङकिङ डटकमबाट लिइएको हो। यहाँ क्लिक गर्नुभयो भने उनले स्क्रिनसट लिएको वेबसाइटको सो वेबपेजमा पुग्न सक्नुहुनेछ।

तर, वास्तवमा नेपालको फिफा र्‍याङकिङ सुधार भएको छैन । किनकी फिफाले गत मे २७ तारिख यता आफ्नो फिफा र्‍याङकिङ अद्यावधिक गरेको छैन ।

हाल फिफाको आधिकारिक वेबसाइटमा उपलब्ध र्‍याङकिङका आधारमा नेपाल अझैपनि साबिककै १७१औं स्थानमा छ । फुटबलको आधिकारिक र्‍याङकिङ तालिका सार्वजनिक गर्ने एकमात्र नियामक निकाय फिफा मात्र हो । फिफा बाहेक अन्यले सार्वजनिक गरेको र्‍याङकिङकाे मान्यता हुँदैन ।

फिफाको आधिकारिक वेबसाइट https://fifa.com का अनुसार नेपालको ताजा फिफा र्‍याङकिङ । Retreived at: 12:29 AM, 16th June 2021

यद्यपि, फिफाको र्‍याङकिङ निर्धारण गर्ने नयाँ नियमअनुसार केही वेबसाइटहरुले आफुखुसी गणना गर्दै नयाँ र्‍याङकिङ सार्वजनिक गर्ने गरेका छन् । विशेषतः फुटबल र्‍याङकिङ डट कमलगायत केही साइटले हरेक खेलपछि नयाँ र्‍याङकिङ प्रक्षेपण गर्ने गरेका छन् । त्यो उसले गरेको अनुमानित प्रक्षेपण मात्र हो, वास्तविक फिफा र्‍याङकिङ भने होइन ।

यस्तै, खेलकुद समाचारको नेपाली न्यूजपोर्टल खेलपाटीले पनि मंगलबार नै नेपालको फिफा र्‍याङकिङमा तीन स्थान सुधार आएको भन्दै मिसलिडिङ समाचार पोस्ट गरेको थियो । फुटबलको वरियतामा तीन स्थान सुधार शीर्षकमा सम्प्रेषित उक्त समाचारमा खेलपाटीले भित्रि भागमा अनाधिकारिक वेबसाइट फुटबल र्‍याङकिङलाई उद्धृत गरेपनि उसको हेडलाइन र लिड भने मिसलिडिङ नै थिए ।

एन्फा अध्यक्ष र खेलकुद वृत्तको अग्रणी समाचार प्रदायकले एकैदिनमा यस्ता अनाधिकारिक स्रोतबाट मिसलिडिङ जानकारी प्रवाह गर्नु दुःखद् हो । एन्फा अध्यक्षको पोस्टबाट प्रभावित हुँदै खेलपाटीले समाचार सम्प्रेषण गरेको हो, वा खेलपाटीको समाचार प्रभावका कारण एन्फा अध्यक्षले पोस्ट गरेका हुन्, वा दुई समान घटना आफैँमा असम्बिन्धित संयोगमात्र हुन्- घटनाको गर्भ जस्तो भएपनि जिम्मेवार व्यक्ति र जिम्मेवार निकायबाट यस्तो गरिनु कतेह उचित होइन ।

अपडेट: देशकै अग्रणी पत्रिका कान्तिपुरले त झन् फिफाकै र्‍याङकिङमा सुधार आएको भन्दै समाचार सम्प्रेषण गरेको छ। कान्तिपुरको छापा तथा अनलाइन दुवै माध्यममा सो समाचार प्रकाशित छ। ‘फिफा वरीयतामा नेपाल मंगलबार तीन स्थान माथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानबाट १ सय ६८ औं स्थानमा पुगेको हो,’ कान्तिपुरले लेखेको छ।

Facebook Comments Box