दुई–दुई वर्षमा विश्वकप आयोजना गर्ने प्रस्तावको एन्फाद्वारा समर्थन

आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले केही समय पहिले फुटबल विश्वकप आयोजना गरिने चार वर्षको अवधि धेरै भएको भन्दै हरेक दुई वर्षमा आयोजना गर्न फिफालाई प्रस्ताव गरेका थिए। वेंगरको प्रस्तावको समर्थन गर्दै फिफाको ७१औं कंग्रेसमा साउदी अरबियाको फुटबल संघले हरेक दुई वर्षमा विश्वकप आयोजना गरिपाउँ भन्दै औपचारिक प्रस्ताव पेश गरेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) सहित दक्षिण एसियाका चार देशहरु माल्दिभ्स, बंगलादेश र श्रीलंकाका फुटबल संघहरुले आज संयुक्त विज्ञप्ती निकाल्दै साउदी अरबको सो प्रस्तावको समर्थन गरेका छन्। फिफाको कंग्रेसमा साउदी अरबले औपचारिक प्रस्ताव पेश गर्दा १६६ देशका फुटबल संघले त्यसको समर्थन गरेका थिए भने २२ वटा देशका संघले विपक्षमा भोट हालेका थिए।

नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका फुटबल संघहरुले निकालेको संयुक्त वक्तव्यमा हरेक दुई वर्षमा फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्दा खेलाडीहरुले थप एक्स्पोजर पाउने र यसले खेल तथा खेलाडीको गुणस्तर वृद्धिमा टेवा पुर्याउने बताएका छन्।

विश्वकपको शताब्दी लामो इतिहासमा एसियाका एक–चौथाई देशले पनि सहभागिता जनाउन नपाएको उल्लेख गर्दै दुई वर्षमा विश्वकप आयोजना गर्दा युरोप र एसियाका देशहरुबीचको फुटबलको गुणस्तरबीचको फरक पनि कम हुँदै थप प्रतिस्पर्धात्मक हुने विज्ञप्तीमा बताइएको छ।

फिफाको हालको खेलकुद क्यालेन्डर फुटबलको गुणस्तर विकासमा कम सहयोगी साबित भएको हुँदा त्यसलाई परिमार्जन गर्न संयुक्त विज्ञप्तीमार्फत् माग गरिएको छ। साथै, आर्सेन वेंगरको प्रस्तावको समर्थन गर्दै एन्फासहित चार संघले उनले अघि सारेको युवा फुटबलका गतिविधि बढाउँदै फुटबलको विकास गरिनुपर्ने मुद्दाको पनि समर्थन गरेका छन्।

यस्तो छ चार फुटबल संघद्वारा जारी संयुक्त विज्ञप्तीः

Facebook Comments Box