‘अल्मुताइरी राजीनामा प्रकरण’को छानविन राखेपले गर्ने

पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा)मा देखिएको विवाद छानविन अब राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गर्ने भएको छ। ‘अल्मुताइरी राजीनामा प्रकरण’पछि एन्फामा भएको विवाद छानविन गरी प्रतिवेदन बुझाउन युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई निर्देशन दिएको हो।

नेपाली राष्ट्रय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फेसबुकमार्फत एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिने बताएपछि एन्फामा विवाद चर्किएको छ। ‘अल्मुताइरी राजीनामा प्रकरण’ लगत्तै बसेको एन्फाको कार्यसमिति बैठकले विवाद समाधान गर्नका लागि मन्त्रालय गहारेको थियो।

मन्त्रालयका सचिव केदार न्यौपानेले फुटबलमा देखिएको विवाद छानविन गरि समाधानको उपाय सहित प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएका हुन्। प्रशिक्षक र वरिष्ठ उपाध्यक्षको निवेदनमाथि छलफल गर्न एन्फाले आकस्मिक कार्यसमिति बैठक आह्वान गरेको थियो ।

एन्फाले छानविनको निर्णय सहितको निवेदन मन्त्रालयमा पेश गरेको थियो । निवेदनमा प्रशिक्षक र वरिष्ठ उपाध्यक्षको निवेदन र पेश गरिएको कागजात समेत समावेश गरिएको थियो । मन्त्रालयले प्राप्त निवेदन र प्रमाणमाथि छानविन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न राखेपलाई निर्देशन दिएको हो।

एन्फामा देखिएको विवादपछि राजिनामा दिने लहर बढेको छ। सोमबार मात्र किरण राईले प्रवक्ताबाट राजिनामा दिए भने सहायक महासचिव बसन्तराज अर्यालले पनि आजै राजिनामा दिएका थिए।

Facebook Comments Box