नेम्बाङ र अल्मुताइरीको विवाद सुल्झाउन एन्फा खेलकुद मन्त्रालयको शरणमा

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादमा संघले खेदकुद मन्त्रालयलाई गुहार्ने भएको छ।

शुक्रबार बसेको एन्फा कार्यसमितिको आकस्मिक बैठकले आयोग बनाएर नेम्बाङ र अल्मुताइरीको निवेदनमा छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो। वरिष्ठ उपाध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरीले एकअर्काविरुद्ध छानबिनको माग गर्दै एन्फामा निवेदन दिएका थिए ।

अलमुताइरीले आफुलाई टर्चर दिइएको र असुरक्षित महसुस भएको भन्दै काम गर्ने वातावरण नपाएको उल्लेख गर्दै छानबिनको माग गरेका छन्। वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि एन्फाको आसन्न निर्वाचनलाई प्रभावित पार्ने गरी आफूमाथि आरोप लगाएको भन्दै छानबिन गर्न माग गरेका थिए।

तर, छलफलका क्रममा भने दुवैजना उठेर हिँडेपछि छलफलबाट विवादको टुंगो लाग्न सकेन। अल्मुताइरी दुई पत्रकारको निवेदन बुझाएर बैठकबाट निस्किएका थिए। बैठक छाडेर गेटसम्मै पुगिसकेका अल्मुताइरीलाई एन्फाका पदाधिकारीहरुले फर्काएर लानुपरेको थियो। अल्मुताइरीले बैठकको अपमान गरेको भन्दै उपाध्यक्ष नेम्बाङ पनि बैठक छाडेर हिँडेका थिए।

छलफलका क्रममा खटपट भएपनि मागअनुसार नै निर्णय भएको एन्फाका प्रवक्ता किरण राईले जनाएका छन्। दुवैजनाले उच्चस्तरीय छानबिनको माग गरेका थिए। त्यसैले युवा तथा खेलकुद मन्त्रालयलाई छानबिनको माग गर्ने निर्णय दुवैको निवेदनअनुसार नै भएको उनले बताएका छन्।

Facebook Comments Box