युथ एकेडेमीका लागि एन्फाले छान्यो देशभरबाट ४२ खेलाडी

अखिल नेपाल फुटबल संघले युथ एकेडेमीका लागि १३ वर्ष मुनिका ४२ खेलाडी छानेको छ। देशभरबाट विभिन्न चरणको छनोटपछि अन्तिम चरणमा एन्फाले ४२ जना खेलाडी छनोट गरेको हो।

छनोट भएका ४२ मध्ये २१ जना खेलाडीलाई तीन विभागमा छात्रवृत्तिमा बाँडिनेछ । नेपाल पुलिस, नेपाली सेना र एपीएफको एकेडेमीमा ७–७ जना खेलाडी रहनेछन् । उनीहरुले विभागको स्कुल एकेडेमीबाट पूर्ण छात्रवृत्ति पाउनेछन् ।

बाँकी २१ खेलाडी भने शुल्कसहित छनोट भएका हुन्। एकेडेमी सन्चालनका लागि एन्फाले विभागीय टिमको स्कुलसँग यस अघि नै सम्झौता गरिसकेको छ ।

एन्फाले ९ जना खेलाडीलाई ब्याकअपको रुपमा राखेको छ। छात्रवृत्ति पाएका खेलाडीहरु लक्की ड्र मार्फत तीन विभागमा बाँडिनेछ । एन्फाले एकेडेमीका लागि प्राविधिक सहयोग गर्नेछ ।

एन्फाले आयोजना गरेको छनोटमा कूल १६६ खेलाडी सहभागी थिए । जसमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकीबाट ३१, लुम्बिनीबाट ३०, कर्णालीबाट ८ र सुदूरपश्चिमबाट १२ जना खेलाडी सहभागी भएका थिए ।

Facebook Comments Box