अन्जन विष्ट ललितपुरको मार्की खेलाडी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका सदस्य तथा विंगर अन्जन विष्ट मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीमा अनुबन्धित भएका छन्। नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुरले सोमबार अन्जनलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो।

ललितपुरले उनलाई ५ लाख ५० हजारमा अनुबन्धित गरेको हो । ललितपुरका मालिक तथा भाटभटेनी सुपर मार्केटका कार्यकारी निर्देशक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

मनाङ मर्स्याङ्दी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका अन्जन नेपाली टिमका नियमित सदस्य हुन् । उनले एपीएफ क्लबबाट समेत खेलिसकेका छन् । ‘लिग खेल्न आतुर छु । जित्ने लक्ष्य सहित तयारी गर्छौ । आफ्नो शतप्रतिशत दिन्छु र पहिलो पटक हुन लागेको लिगलाई सफल गराउन सबैलाई लाग्न अपिल गर्छु,’ ललितपुरसँग सम्झौता गरेपछि अन्जनले भने ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगमा धनगढी एफसी, विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ ९एन्फा० को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.