
फुटबलर अञ्जन र भारत्तोलनका कमल अधिकारी सम्मानित
राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्ट र भारोत्तोलनका भेट्रान खेलाडी साग स्वर्ण विजेता कमलबहादुर अधिकारी सम्मानित भएका छन्।
छत्रबहादुर थापा स्मृति प्रतिष्ठानले शुक्रबार अन्जन र कमललाई नगदसहित सम्मान गरेको हो । दुवै खेलाडीले जनही नगद ५० हजार रुपैयाँ पुरस्कार पाए । उनीहरु दुवैलाई प्रधानसेनापति प्रभुराम शर्माले सम्मान गरेका हुन् ।
नेपाली सेनाका अवकासप्राप्त रथी नेत्रबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा र अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाका पिता छत्रबहादुरको स्मृतिमा स्थापित प्रतिष्ठानले चार वर्षदेखि खेलाडीलाई सम्मान गर्दै आएको छ । यो सम्मानबाट यसअघि राष्ट्रिय टिमका स्ट्राइकर नवयुग श्रेष्ठ सम्मानित भइसकेका छन्।
नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले ११ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । यता, कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपालका लागिस्वर्ण पदक जितेका थिए ।