
नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला बनिन् हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर
नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बा हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर बनेकी छिन्।
बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर हन्ड्रेड स्पोर्टस म्यानेजमेन्टले एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो।
एक कार्यक्रमबीच सम्झौता पत्रमा हन्ड्रेड स्पोर्टसका संस्थापक रविन्द्र भाटी र एन्जिलाले हस्ताक्षर गरे। सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर बनाएको हो ।
एन्जिलाले पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ । अब उसले एन्जिलाको संसारभरी मार्केटिङको काम गर्नेछ।

हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा व्यवसायिक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए।
एन्जिलाले आफूले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास व्यक्त गरिन् । खेलकुदमा व्यवसायिकता ल्याउने उद्धेश्य सहित खेलाडीसँग कमर्सियल अधिकारका लागि चार वर्षका लागि भएको यसलाई पहिलो सम्झौता मानिएको छ।
कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक हरि खड्का, एन्फा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कालगायतले एन्जिलालाई बधाई तथा शुभकामना दिएका थिए।