एट्लेटिकोमा ग्रिजमनले ८ नम्बरको जर्सी लगाउने

दुई सिजनपछि पूर्वक्लब एट्लेटिको मड्रिड फर्किएका फ्रेन्च स्ट्राइकर एन्टोइन ग्रिजमनले यो सिजन ८ नम्बरको जर्सी लगाउने भएको छन्। समर ट्रान्सफर विन्डोको अन्तिम दिन आश्चर्यजनक रुपमा बार्सिलोनाबाट एट्लेटिको लोनमा फर्किएका उनलाई क्लबले ८ नम्बरको जर्सी दिएको हो।

एट्लेटिकोमा ८ नम्बरको जर्सी लगाइरहेका मिडफिल्डर साउल निगुएज लोनमै चेल्सी गएपछि ८ नम्बरको जर्सी खाली थियो। यसअघि ५ सिजन एट्लेटिकोमा बिताउँदा ग्रिजमनले ७ नम्बरको जर्सी लगाएका थिए। उनले बार्सिलोनामा पनि ७ नम्बरकै जर्सी लगाएका थिए।

तर, अहिले एट्लेटिको ७ नम्बरको जर्सी खाली नभएपछि उसले ग्रिजमनलाई ८ नम्बरको जर्सी दिएको हो। एट्लेटिकोमा ७ नम्बरको जर्सी जोआ फेलिक्सले लगाउँछन्।

एट्लेटिकोबाट सन् २०१४ बाट सन् २०१९सम्म खेल्दै ग्रिजमनले २५७ खेलमा १३३ गोल गरेका थिए। यता बार्सिलोनामा २ सिजन बिताउँदा उनले १०२खेलमा ३५ गोल गरेका छन्।

Facebook Comments Box