कोलम्बियाविरुद्ध अर्जेन्टिना विजयी, फाइनलमा ब्राजिलसँग भिड्ने

अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा गोलकिपर एमी मार्टिनेजले कोलम्बियाले प्रहार गरेका तीनवटा पेनाल्टी बचाउँदै अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए।

यसअघि अर्जेन्टिनाले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो। लियोनल मेसीको असिस्टमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन्।

तर, लुइस डियाजले ६१औं मिनेटमा गोल गर्दै कोलम्बियालाई खेलमा फर्काए। एड्विन कार्दोनाको एसिस्टमा डियाजले खेल बराबरी गरेका थिए। बाँकी रहेको समयमा कुनै पनि गोल हुन नसकेपछि टाइब्रेकरबाट विजेताको टुंगो लागेको थियो।

फुटबलका नकआउट खेलमा सामान्यतय ९० मिनेटको खेल बराबरी भए ३० मिनेटको एक्स्ट्रा टाइम थपेर त्यसमा पनि बराबरी भयो भने मात्र पेनाल्टी सुटआउटमा गइन्छ। कोपा अमेरिकामा भने फाइनलमा मात्र एक्स्ट्रा टाइम थप्ने नियम छ। अन्य नकआउट खेलको निर्धारित ९० मिनेटमा गोल भएन भने सिधै पेनाल्टी सुटआउटबाट जित्ने टिमको टुंगो लगाइन्छ।

जीतसँगै अर्जेन्टिनाले फाइनलमा ब्राजिलको सामना गर्ने भएको छ। फाइनल खेल आइतबार बिहान ५ः४५ बजे हुनेछ।

यस्तै, कोलम्बिया र पेरु पनि तेस्रो स्थानका लागि भिड्नेछन्। तेस्रो स्थानको खेल शनिबार बिहान ५ः४५ मा हुनेछ।

Facebook Comments Box