विश्वकप छनोटः पाराग्वेसँग रोकियो अर्जेन्टिना, उरुग्वे र कोलम्बिया पनि ड्र

विश्वकप २०२२ को दक्षिण अमेरिका छनोटअन्तर्गत पाराग्वेविरुद्ध भएको खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ। खेलमा एकपक्षीय पकड राख्न सफल भएपनि अर्जेन्टिनाले पाराग्वेको डिफेन्स तोडेर गोल गर्न असफल भएपछि गोलरहित बराबरीमा चित्त बुझाएको छ।

खेलमा पूर्ण प्रभुत्व जमाउँदै ७० प्रतिशत बल पोजेसन राखेपनि अर्जेन्टिनाले बललाई पोस्टको दिशा दिन सकेन। अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोक्न पाराग्वेका गोलकिपरसहित डिफेन्डरले उत्कृष्ट प्रदर्शन गरेका थिए।

पाराग्वेको पोस्टमा १४ सट प्रहार गरेको अर्जेन्टिनाका ८ सट टार्गेटमा गएका थिए, तर कुनै गोलमा परिणत हुन सकेनन्। अर्जेन्टिनाको बलियो लाइनअपका अघि डिफेन्सिभ फुटबल खेल्न वाध्य भएको पाराग्वेले ३० प्रतिशत बल पोजेसनमा पनि १० सट प्रहार गरेको थियो जसमध्ये ३ सटमात्र टार्गेटमा गएका थिए।

बराबरीका बावजुद दक्षिण अमेरिकाको विश्वकप छनोट टेबलमा अर्जेन्टिना दोस्रो स्थानमा कायम छ भने पाराग्वे छैठौं स्थानमा छ।

यसैगरी, विश्वकप छनोटअन्तर्गत नै अर्का दुई बलिया टिम उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेलेका छन्। दुवै टिम गोल गर्न असमर्थ भएपनि खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।

कोलम्बियाले बल पोजेसनमा तुलनात्मक रुपमा बढी पकड जमाएपनि उरुग्वेले आक्रामक फुटबल खेल्दै धेरै अवसरहरु सिर्जना गरेको थियो। कोलम्बियाले ५२ प्रतिशत बल पोजेसनमा ७ सट प्रहार गर्दा ३ वटा टार्गेटमा गएका थिए। ४८ प्रतिशत बल पोजेसनमा १५ सट प्रहार गरेको उरुग्वेका खेलाडी निशानामा चुक्दा ३ वटामात्र सट टार्गेटमा थिए।

बराबरी पछि उरुग्वे र कोलम्बिया क्रमशः चौथो र पाँचौं स्थानमा यथावत छन्।

यस्तै, आजै भएको अर्को खेलमा इक्वेडरले बोलिभिया माथि प्रभावशाली जित हात पारेको छ। पाँच मिनेटको अन्तरालमा तीन गोल गर्दै इक्वेडरले ३–० को सहज जित निकालेको हो।

माइकल एस्ट्राडाले १४औैं मिनेटमा गोल गर्दै इक्वेडरलाई पहिलो सफलता दिलाएका थिए। त्यसको तीन मिनेट नबित्दै एनर भ्यालेन्सियाले १७औं मिनेटमा इक्वेडरको अग्रता दोब्बर बनाए।

लगत्तै १९औं मिनेटमा भ्यालेन्सियाले अर्को पनि गोल थपे र पहिलो हाफको सुरुवातमै इक्वेडरलाई स्पष्ट अग्रता दिलाउँदै जिततर्फ अग्रसर गराएका थिए। खेलमा प्रभुत्व कायम गर्दै गोल तथा बल पोजेसनमा दबदबा राखेको इक्वेडरले त्यसपछि गोल गर्न भने सकेन।

प्रभावशाली जितसँगै इक्वेडर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। बोलिभिया भने नवौं स्थानमा झरेको छ।

Facebook Comments Box