अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनल पुग्न कोलम्बियाको चुनौती

ब्राजिलमा जारी कोपा अमेरिका २०२१ को फाइनल प्रवेशका लागि लियोनल मेसीको अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ। विजयी हुने टिमले कोपा अमेरिकाको उपाधिका लागि फाइनलमा ब्राजिलसँग भिडन्त गर्नेछ।

अर्जेन्टिना जारी प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ। स्टार खेलाडी मेसी उत्कृष्ट फर्ममा हुँदा अर्जेन्टिनाले सहजै सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ।

अर्जेन्टिना समूह विजेता बन्दै कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध ३–० को प्रभावशाली जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको अर्जेन्टिना आत्मविश्वासका साथ मैदान प्रवेश गर्दैछ।

कोलम्बिया भने टाइब्रेकरमा जित निकाल्दै सेमिफाइनलसम्म आएको हो। क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी उरुग्वेको सामना गरेको कोलम्बिया गोलरहीत बराबरी पछि पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भएको थियो।

समूह चरणमा अर्जेन्टिना र कोलम्बिया एउटै समूहमा थिए। समूह चरणमा पहिलो १० मिनेटमै दुई गोलको अग्रता लिएको अर्जेन्टिनाविरुद्ध कमब्याक गर्दै कोलम्बियाले २–२ को बराबरी गरेको थियो।

अर्जेन्टिनाका लागि तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले र लिएन्द्रो पेरेडेसले आठौं मिनेटमा गोल गरेका थिए। कोलम्बियाका लागि लुइस फ्रुटोले ५१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका थिए भने मिगुएल बोर्जाले ९४औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

त्यसैले, यी दुई टिमबीचको सेमिफाइनल भिडन्त रोचक हुनेछ। अर्जेन्टिना र कोलम्बिया ब्राजिलको नेसनल स्टेडियममा बुधबार बिहान ६ः४५ बजे भिड्दै छन्।

Facebook Comments Box