कोपा अमेरिकामा मेसीको अर्जेन्टिनालाई बोलिभियाको चुनौती

ब्राजिलमा जारी कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाले बोलिभियासँग खेल्दै छ। अर्जेन्टिना यसअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको छ भने बोलिभिया समूह चरणबाटै बाहिरीसकेको छ।

त्यसैले समूह ‘ए’को अन्तिम खेलमा यी दुई देशबीचको खेलले प्रतियोगिताको समीकरणमा धेरै महत्व भने राख्दैन। यद्यपी, बोलिभियाविरुद्धको खेल जितेको अवस्थामा अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट प्रवेश गर्नेछ।

अर्जेन्टिना आफ्ना तीन खेलमा दुई जित र एक बराबरीको नतिजा निकाल्दै ७ अंकका साथ शीर्षस्थानमा छ। पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले उरुग्वे र पाराग्वेलाई समान १–० गोलअन्तरले पराजित गरेको थियो।

बोलिभिया भने आफ्ना तीनवटै खेलमा पराजित हुँदै समूहको पुछारमा छ। बोलिभिया पाराग्वेसँग ३–१, चिलीसँग १–० र उरुग्वेसँग २–० ले पराजित भएको थियो।

हाल शीर्षस्थानमा रहेको अर्जेन्टिनासहित समूह ‘ए’बाट पाराग्वे, चिली र उरुग्वेले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। समूह चरणका सबै खेल सकिएपछि उनीहरुको स्थान टुंगो लागेसँगै क्वार्टरफाइनलको समीकरण पनि पुरा हुनेछ।

Facebook Comments Box