
अर्जेन्टिनाको ‘तीन तारे जर्सी’ सार्वजनिक भएको केही मिनेटमै ‘सोल्ड आउट’
अर्जेन्टिनाको आधिकारिक जर्सी निर्माता कम्पनी एडिडासले केही दिन अघि नयाँ जर्सी सार्वजनिक गर्ने घोषणा गरेको थियो। कतारमा सम्पन्न विश्वकपको फाइनलमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्व च्याम्पियन बनेपछि अर्जेन्टिनाका लागि एडिडासले तीन वटा तारा भएको नयाँ जर्सी बनाएको थियो।
घोषणा अनुरुप एडिडासले २२ डिसेम्बरमा अर्जेन्टिनाको नयाँ तीन तारे जर्सी अनलाइन बिक्रिका लागि राखेको थियो। एडिडासको अर्जेन्टिनी संस्करणको वेबसाइटमा बिक्रिमा राखिएको नयाँ जर्सी केही मिनेटमै बिक्रि भएर ‘सोल्ड आउट’ भएको हो।
तीन तारे जर्सीको पहिलो ब्याच अर्जेन्टिनाबाटै बिक्रि गर्ने निर्णय गरेको एडिडासले अकल्पनीय रेकर्ड कायम गर्दै त्यति छिटो जर्सी बिक्री गरेको हो। कम्पनीले युरोपमा भने २८ तारिखमा सो जर्सी सार्वजनिक गर्दैछ।
युरोपमा बिक्रीका लागि जर्सी उत्पादन नसक्दै अर्जेन्टिनामा राखिएको जर्सी क्षणभरमै सकिएपछि एडिडास अहिले धमाधम दोस्रो ब्याच उत्पादन थालेको छ। युरोपको बिक्री सकेर अर्जेन्टिनाका लागि दोस्रो ब्याच पनि छिटै उत्पादन सकेर बिक्रिमा राखिने भन्दै एडिडासले प्रचार सुरु गरिसकेको छ।