
सुमन अर्यालको गोलमा हारबाट जोगियो आर्मी, बराबरीसँगै उपाधि होडबाट टाढियो
उपाधि होडमा रहेको विभागी टिम त्रिभुवन आर्मी क्लब सहिद स्माकर ए डिभिजन लिगमा बराबरीमा रोकिएको छ । आजबाट सुरु भएको दशौं चरणको पहिलो खेलमा आर्मी जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
हारतर्फ उन्मूख आर्मीलाई राष्ट्रिय टिमका डिफेन्डर इन्जुरी समयको गोल गर्दै हारबाट जोगाए । सुमनले इन्जुरी समयको सातौं मिनेटमा जगजित श्रेठको पासमा गोल गरेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३ औं मिनेटमा ओन्गुना जुनियरको गोलमा जावलाखेलले आर्मीविरुद्ध अग्रता लिएको थियो । उनले रुपबहादुर लामाको ब्याक पासमा आर्मीका तीन डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
यो बराबरीसँगै आर्मी उपाधि होडबाट टाढिएको छ। उ १८ अंक जोड्दै तेस्रो स्थानमा छ । र, अब तीन खेलमात्र बाँकी रहँदा आर्मी एक खेल कम खलेको शीर्ष स्थानको मछिन्द्रभन्दा ५ अंकले पछि परेको छ। जावलाखेल भने ९ अंक जोड्दै ११औं स्थानमा छ ।