युरोपा लिग : आर्सनल र लेस्टर सिटीको सहज जित
युरोपा लिग फुटबल प्रतियोगितामा दुई इंग्लिस क्लब आर्सनल र लेस्टर सिटीले सहज जित निकालेका छन् । बिहीबार राति भएको खेलको आर्सनलले नर्वेको क्लब मोल्डे एफकेलाई ४–१ ले पराजित गर्दा लेस्टरले पोर्चुगिज क्लब ब्रागामाथि ४–० को जित निकाल्यो ।
घरेलु मैदानमा आर्सनलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। आर्सनलको जितमा निकोलस पेपे र जो विलकले गोल गरे भने दुई गोल आर्सनलले उपहार स्वरुप पाएको थियो । मोल्डेका मार्टिन इलिंसनले गोल गरेका थिए ।
इमिरेट्स स्टेडियममा २२औं मिनेटमा मार्टिन एलिङ्सेनले गोल गर्दै मोल्डेलाई अग्रता दिलाएका थिए । तर, ४५औं मिनेटमा मोल्डेका क्रिस्टोफर हौगेनले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आयो। ६२औं मिनेटमा शेरिफ सिन्यानले आत्मघाती गोल गर्दा आर्सनलले २–१को अग्रता लियो ।
७०औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए । त्यसपछि ८८औं मिनेटमा जोसेप विललकले गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।
जितसँगै आर्सनलले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । समूह ‘बी’ मा रहेको आर्सनलले ३ खेलमा ९ अंक जोडेको छ । आर्सनल शीर्ष स्थानमा रहेको छ । मोल्डे ६ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।
यसैगरी अर्र्काे खेलमा लेस्टर सिटीले पोर्चुगिज क्लब ब्रागालाई ४–०ले हरायो । लेस्टर सिटीका लागि केइली इनह्यान्चोले २ गोल गरे भने डेनिस प्रइट र जेम्स माडिन्सनले एक एक गोल गरे ।
लेस्टरले २२औं मिनेटमा इन्ह्याचोको गोलमा पहिलो हाफमा १–०को अग्रता लियो । दोस्रो हाफ सुरु भएको २ मिनेट नवित्दै इन्ह्याचोले नै लेस्टरको अग्रता दोब्बर बनाए । त्यसपछि ६७औं मिनेटमा प्रइट र ७८औं मिनेटमा माडिन्सनले गोल गरेपछि लेस्टरले ४–०को सहज जित निकाल्यो ।
अपराजित रहेको लेस्टर समूह जीमा ९ अंक सहित शीर्ष स्थानमा छ । ३ खेलमा ६ अंक जोडेको ब्रागा दोस्रो स्थानमा छ ।