क्लब फुटबलफुटबल

सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्ड उपाधि

कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको छ। आइतबार राति वेम्बलीमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई पेनाल्टी सुनटआउटमा ४–१ हराउँदै आर्सनलले सिजनको सुरुआत अघि कम्युनिटी सिल्ड उपाधि जितेको हो।

निर्धारित समयको खेल १–१को बराबरीमा सकिएको निर्णय पेनाल्टीबाट गरिएको थियो। पेनाल्टीमा आर्सनलका कप्तान मार्टिन ओडेगार्ड, बुकायो साका, लियान्द्रो ट्रोसाड र फाबियो भिएराले गोल गरेका थिए। यता, म्यान्चेस्टर सिटीका बर्नार्डो सिल्भाले मात्र गोल गरे। उसका केभिन डे ब्रुयनको प्रहार पोस्टमा लागेको थियो भने रोड्रीको प्रहार आरोन रामस्डेलले रोकेका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ७७औं मिनेटमा डे ब्रुयनको पासमा युवा स्ट्राइकर कोल पाल्मरले गोल गर्दै सिटीलाई अग्रता दिलाए। दुवै दोस्रो हाफमा मैदान छिरेका थिए।

तर, खेल सकिनै लाग्दा आर्सनलले बराबरी गोल फर्कायो। उसका लागि इन्जुरी समयको ११औं मिनेटमा बुकायो साकाको पासमा ट्रोसाडले गोल गरेका थिए।