मेहनतले बनेका फुटबल हुन्, आशिष चौधरी । केही वर्षअघिसम्म मजदुरी गर्दै स्थानीय प्रतियोगिताहरूमै रमाइरहेका आशिष अहिले राष्ट्रिय फुटबल टिमको हिस्सा बनेका छन्।
२३ वर्षीय स्ट्राइकर आशिष मोरङको सुन्दरहरैंचास्थित गछियामा निम्न वर्गीय परिवारमा जन्मिएका हुन्। आशिष सानैदेखि फुटबल खेल्थे।
परिवारलाई सहयोग गर्न र आफ्नै फुटबलको सापना साकार बनाउन आशिष सानैदेखि मजदुरी गर्न थाले। उनले धेरै समय ट्याक्टरमा सहचालक (हेल्पर)को काम गरे। बाध्यताले मजदुरी गर्ने अशिषले फुटबललाई सँगै अघि बढाए।
मजदुरीसँगै फुटबललाई निरन्तरता दिइरहेका आशिष स्थानीय प्रतियोगितामा चम्किँदै गए, खेल कौशलले। उनी स्थानीय प्रतियोगितामा सबैको प्रिय खेलाडी बने।
१२ वर्षपछि २०७७ सालमा सी डिभिजनमा बढुवा भएको चर्च बोइज बलियो टिम बनाउन लाग्यो। त्यही क्रममा आशिष चर्च बोइजसँग जोडिए।
त्यसपछि आशिष र चर्च बोइजले पछाडि फर्केर हेर्नु परेको छैन, दुवै निरन्तरअघि बढिरहेका छन्। त्यसपछि चर्च बोइजले सी, बी र ए डिभिजन उपाधि जित्यो ।
चर्च बोइजको त्यो अविश्वनीय सफलतामा आशिषको भूमिका महत्वपूर्ण थियो। निरन्तर मेहनत गर्न रुचाउने आशिष प्रत्येकजसो खेलमा मैदानमा छाए।
फुटबलमा सफलता पाइरहेपछि आशिषलाई विदेश जान दबाब थियो । तर, उनी विदेश जान चाहँदैन थिए, आफ्नै सानैदेखिको मेहनतलाई साकार बनाउन उनी राष्ट्रिय टिमबाट खेल्न चाहन्थे।
गत असोजमा उनको त्यो सपना पनि पुरा भयो। चर्च बोइजलाई बी डिभिजन च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेपछि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि आशिषलाई राष्ट्रिय टिममा बोलाइयो। उनले डेब्यूको मौका पनि पाए।
राष्ट्रिय टिममा परेपछि उनलाई विदेश जान दाबब होइन, फुटबलमै लाग्न परिवारबाट हौसला मिलेको छ। त्यसले उनलाई थप उत्साह मिलेको छ।
त्यही उत्साहका कारण आशिषले ए डिभिजन लिगमा पनि उत्कृष्ट प्रदर्शन गरे। स्टार स्ट्रइकर अन्जन विष्टसँगै चर्चा बोइजको फ्रन्ट लाइन सम्हालेका आशिषले लिगमा कुल ७ गोल गरे। यो प्रदर्शनले उनलाई थप उत्साहित बनाएको छ, र राष्ट्रिय टिममा आफ्नो छाप छोड्न उत्प्रेरित गरेको छ।
आशिष अहिले राष्ट्रिय टिमसँगै साफ च्याम्पियनसिपको तयारी गरिरहेका छन्। उनले बिहीबार भएको फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण सब्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।
कडा मेहनतले नै यहाँसम्म आइपुगेका आशिष राष्ट्रिय टिममा आफूले पाएको मौकालाई पूर्ण सदुपयोग गर्न चाहन्छन्।
संघर्षले बनेका फुटबलर आशिषलाई राष्ट्रिय टिममा पनि सफलता मिलोस्, शुभकामना !