
एसियन कप फुटसल छनोटमा नेपालको लगातार तेस्रो हार
नेपाली राष्ट्रिय फुटसल टोलीले तेस्रो पटक एएफसी फुटसल एसियन कप खेल्दा अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । कीर्गिस्तानको बिस्केकमा भइरहेको फुटसल एसियन कप २०२२ को छनोटमा मंगलबार अफगानिस्तासँग ८–१ ले पराजित भएपछि यस पटक कम्तीमा एक खेल जित्ने नेपालको लक्ष्य समेत पूरा हुन सकेन ।
सेन्ट्रल तथा साउथ जोन अन्तर्गत समूह बी मा रहेको नेपालले लगातार तेस्रो खेलमा पराजित बेहोर्यो । पहिलो हाफमा अफगानिस्तानले नेपालमाथि दबाब बनाउँदै दुई गोल गरेको थियो । नेपालले पनि गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन।
दोस्रो हाफमा अफगानिस्तानले ६ गोल थप्दा नेपालले एक गोल मात्र फर्काउन सक्यो । नेपालका लागि सुमित श्रेष्ठले एक गोल गरे ।
नेपाली टिमका प्रशिक्षक गौरव बस्नेतले छनोटको खेलअघि नै कम्तीमा एक खेल जित्ने लक्ष्य रहेको र धेरै आशा नराखेको बताएका थिए । तीन खेलपछि नेपालको प्रदर्शन पनि प्रशिक्षकले भने जस्तै नै रह्यो । तर एक खेल जित्ने लक्ष्य भने पूरा हुन सकेन।
नेपाल रहेको समूहमा फुटसलको ‘पावर हाउस’ टिमहरु उज्वेकिस्तान र ताजकिस्तान जस्ता टिम थिए । पहिलो खेलमा नेपाल बलियो टोली उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजकिस्तानसँग ११–१ को फराकिलो अन्तरले पराजित भयो ।
लगातार दोस्रो हारपछि नेपाल छनोटबाट बाहिरिसकेको थियो । अन्तिम खेल जित्दै सुदख अन्त्य गर्ने नेपालको लक्ष्य भने पूरा हुन सकेन । लगातार तीन हारपछि नेपाली प्रशिक्षक गौरव बस्नेत दुःख व्यक्त गरे ।
नेपालले तीन खेलमा जम्मा ३ गोल गर्दा २४ गोल बेहोर्यो । सन् २०१७ मा पहिलो पटक छनोट खेल्दा नेपालले ४ गोल गरेको थियो भने २८ गोल बेहोरेको थियो । यस्तै २०१९ मा छनोट चरण खेल्दा नेपालले ३ गोल गरेको थियो भने १६ गोल बेहोरेको थियो।