एस्टन भिल्लामाथि युनाइटेडको पुनरागमन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ। आइतबार राति एस्टन भिल्लाकै मैदानमा १ गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडले ३–१को पुनरागमन जित निकालेको हो।

युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र इडिन्सन काभानीले गोल गरे । भिल्लाका लागि बेट्रान्ड टाओरेले गोल गरे ।

घरेलु मैदानमा २४औं मिनेटमा टाओरेको गोलमा भिल्ला सुरुआती अग्रता लियो । पहिलो हाफमा भिल्लाले युनाइटेडलाई निरन्तर दबाबमा राखेको थियो।

तर, दोस्रो हाफमा भने युनाइटेडले उत्कृष्ट खेल खेल्यो र पुनरागमन जित निकाल्यो। ५२औं मिनेटमा फर्नान्डेस गोल गर्दै खेललाई बराबरीमा ल्याए। डग्लस लुइसले पालउ पोग्बालाई डिबग्समा लडाएपछि प्राप्त पेनाल्टीमा फर्नान्डेसले सहजै गोल गरेका थिए।

५६ औं मिनेटमा ग्रीनउडले आरोन वान विसाकाको पासमा गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८७ औं मिनेटमा काभानीले मार्कस रोस्फोर्डको पासमा गोल गर्दै युनाइटेडलाई ३–१ को पुनरागमन जित दिलाए ।

८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै युनाइटेडले ७० अंकका साथ दोस्रो स्थानमा यथावत छ भने एस्टन भिल्ला ४८ अंक जोडेर ११ औं स्थानमा छ ।

Facebook Comments Box