
अफ्रिका कप अफ नेशन्समा दर्शकबीच झडप हुँदा ६ जनाको मृत्यु
अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर समर्थकहरूबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । आयोजक क्यामरुन र कोमोरोसबीचको प्रिक्वार्टरफाइलन खेल चलिरहेका बेला रंगशालाबाहिर भएको झडपमा ६ जनाको मृत्यु हुनुका साथै केही घाइते भएको बताइएको छ।
खेल हेर्न पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए । खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार जति समर्थक प्रवेश गर्ने कोसिस गरिरहेका थिए । त्यही बेला मुख्य गेट नजिक भएको दुर्घटनामा आधा दर्जनको मृत्यु भएको र दर्जनौं घाइते भएको स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।
उक्त रंगशालामा ६० हजार दर्शक अट्ने क्षमता छ । तर कोभिड प्रोटोकल पालना गर्नुपर्दा ८० प्रतिशतभन्दा बढी दर्शक राख्न पाइँदैन्थ्यो ।
समाचार एजेन्सी एपीसँग कुरा गर्दै क्यामरुनको मध्य क्षेत्रका गभर्नरले हताहतीको संख्या बढ्न सक्ने बताएका छन् । मिडिया रिपोर्टका अनुसार सो घटनामा केही बालबालिका बेहोस् भएका छन् ।
अफ्रिकी फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गरी घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।