
सेभियाको पोस्टमा एट्लेटिकोको आधा दर्जन गोल
ला लिगामा एट्लेटिको मड्रिडले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा एट्लेटिकोले सेभियामाथि ६–१ को फराकिलो जित निकाल्यो।
बल पोसेजनमा तल परेपछि एट्लेटिकोलाई सानदार जित दिलाउने क्रममा मेम्फिस डिपाए र अल्भारो मोराटाले समान २ गोल गर्दा एन्टोइन ग्रिजमन र यानिक करास्कोले पनि गोल गरे।
२३औं मिनेटमा डिपाएले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । २६औं उनले नै टिमको अग्रता दोब्बर बनाए। ३९औं मिनेटमा युसुफ एन नासरीले गोल गर्दै सेभियालाई खेलमा फर्काउने प्रयास गरे।
तर, दोस्रो हाफमा थप ४ गोल गर्दै एट्लेटिकोले सानदार जित निकाल्यो। ५३औं मिनेटमा ग्रिजमन तथा ६९औं मिनेटमा करास्कोले गोल गरेपछि खेलमा एट्लेटिकोले ४–१को अग्रता लियो। ७६औं मिनेटमा मोराटाले गोल गरेपछि एट्लेटिको ५–१को सहज अवस्थामा आयो।
८०औं मिनेटमा सेभिया १० खेलाडीमा समेटियो। उसका पेपे गुएएले रातोकार्ड पाएका थिए। त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा मोराटाले नै गोल गरेपछि एट्लेटिकोले सेभियामाथि ६–१को फराकिलो जित निकाल्यो।
जितपछि एट्लेटिको ४५ अंक जोड्दै तेस्रो स्थानमा छ। यो सिजन खराब प्रदर्शन गरिरहेको सेभिया २५ अंकसहित १६औं स्थानमा छ।