पिएसजी छाड्दै काभानी र सिल्भा

कप्तान थिएगो सिल्भा र स्ट्राइकर इडिन्सन काभानीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने भएका छन् । सिजनको अन्त्यसँगै ब्राजिलियन डिफेन्डर सिल्भा र उरुग्वेका स्ट्राइकर काभानीले पिएसजी छाड्ने भएका हुन् ।

कभानी र सिल्भा दुवैको सम्झौता सिजनको अन्त्यसँगै सकिने छ । क्लबका निर्देशक लियोनार्दोले पनि यसको पुष्टी गरेका छन् । उनले दुवैलाई अगस्तसम्म राख्न चाहेको पनि बताएका छन् ।

‘हो हामी अन्त्यमा आइपुगेका छौँ । यो निर्णय गर्न धेरै कठिन थियो, किनभने उनीहरु क्लब इतिहासको एउटा हिस्सा हुन्,’ लियोनार्दोले एक अन्तर्वार्तामा भने, ‘आर्थिक अवस्था र अब आउने नयाँ जेनेरेसनका खेलाडीलाई ध्यानमा राख्दै यस्तो निर्णय गर्नुपरेको हो ।’

केही साताअघि फरवार्ड माउरो इकार्डीले स्थायी सम्झौता गरेपछि काभानीको पेरिस बसाइ अनिश्चित बनेको थियो । सन २०१२ मा इटालियन क्लब एसी मिलानबाट पिएसजी पुगेका सिल्भाले पिएसजी छाड्ने क्लब यसैसाता समाचारहरु आएको थियो । काभानी इटालियन क्लब नापोलीबाट सन् २०१३ मा पीएसजीमा पुगेका थिए ।

दुवै खेलाडी पीएसजीका लागि सर्वाधिक खेल खेल्नेमा शीर्ष दशमा छन् । शिल्भाले ३१० र काभानीले ३०१ खेल खेलेका छन् । काभानी एट्लेटिको मड्रिड जाने लगभग पक्का जस्तै छ । उनका सहकर्मी आन्द्रे हरेराले काभानी लालिगा क्लबसँग सम्झौताको नजिक पुगेको बताएबाट पनि त्यसको पुष्टी हुन्छ ।

पिएसजीका निर्देशक लियोनार्दोले दुवैलाई च्याम्पियन्स लिगका बाँकी खेल खेलाउन चाहेका छन् । पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.