क्लब फुटबलफुटबल

सिटीका डिफेन्डर लापाेर्ट अल नासरमा

इंग्लिस क्लब म्यान्चेस्टर सिटीका स्पेनीस डिफेन्डर अमेरिक लापोर्ट साउदी अरेबियातिर लागेका छन्  उनी २९ मिलियन पाउण्डमा अल नासरमा आबद्ध भएका छन्।

सेन्टर–ब्याक लापोर्टेले सिटीको बसाइमा १२ उपाधि जितेका छन्। गत सिजन तीन उपाधि जित्नेक्रममा खासै खेल्ने अवसर नपाएका उनका लागि क्रोएसियाका डिफेन्डर जोस्को गिभार्डियोलको आगमनले अझै अवसर खुम्च्याइदिएको थियो।

२९ वर्षीय उनी अल्जेरियन विंगर रियाद महारेज अल–अहाली गएपछि खाडी मुलुकको आकर्षक प्रस्ताव स्वीकार गर्ने पछिल्ला खेलाडी हुन्।

लापोर्टले एथलेटिको बिल्बाओबाट जनवरी २०१८ मा क्लबको कीर्तिमान ५७ मिलियन पाउन्डमा सिटी आएयता १ सय ८० खेल खेलेका छन् ।

लापोर्टले पेप ग्वार्डिओलाको टिममा रहेर सिटीमा प्रिमियर लिगको ५, च्याम्पियन्स लिग र घरेलु प्रतियोगिताका ५ उपाधि जितेका छन् । अब उनले साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेसँगै अल–नासरबाट खेल्ने छन्।

साउदी क्लबले ब्राजिलका फरवार्ड नेयमर, फ्रान्सका करिम बेन्जेमा र एन्गोलो कान्टेलगायत शीर्ष खेलाडीलाई पनि भित्र्याएको छ। रोबेर्टो फिर्मिनो, जोर्डन हेन्डरसन, कालिडोउ काउलीबेली, अलेक्जेन्डर मित्रोभिच, एलेक्स टेलेस र रुबेन नेभस पनि खाडी मुलुक प्रवेश गरिसकेका छन्।