
बी डिभिजन लिगमा खुमलटार र बाँसबारीको जित
जारी बी डिभिजन लिगअन्तगर्त सोमबार भएका खेलमा खुमलटार युथ क्लब र बाँसबारी युथ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार सम्पन्न खेलमा खुमलटारले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराउँदा बाँसबारीले नयाँबस्ती युथ क्लबलाई ३–१ले हरायो।
खुमटारको जितमा सविन केसी र रमेश केसीले गोल गरे भने वीरगञ्जका आशालाल कुँवरले गोल गरेका थिए।
खेलको छैटौं मिनेटमा कप्तान सविन केसीले पेनाल्टीमा्र्फत् गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए। तर, १३औं मिनेटमा आशालाल कुँवरले गोल गर्दै वीरगञ्जलाई १–१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ७५औं मिनेटमा रमेश थापाले गोल गर्दै खुमलटारलाई २–१ को जित दिलाए।
जितसँगै ९ खेलमा १२ अंक जोडेको खुमलटार नवौं स्थानमा छ भने वीरगञ्जले ९ खेलमा १० अंक जोड्दै १०औं स्थानमा छ।
अर्को खेलमा बाँसबारीले नयाँबस्ती युथ क्लबलाई ३–१ ले हरायो । खेलको चौंथो मिनेटमा बिकी राईले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाएका थिए।
२५औं मिनेटमा सुलेमान थापामगरले गोल गर्दै बाँसबारीलाई २–० को अग्रता दिलाए। ३२औं मिनेटमा सोम थापाले गोल गर्दै नयाँबस्तीलाई २–१ को स्थितिमा ल्याए । तर, ८५औं मिनेटमा सञ्जय धिमालले गोल गर्दै बाँसबारीलाई ३–१ को जित दिलाए।
जितसँगै बाँसबारीले ९ खेलमा १३ अंकका साथ पाँचौं स्थानमा छ भने समान १३ अंक नै जोडेको नयाँबस्ती सातौं स्थानमा छ।