सातदोबाटोले उचाल्यो बी डिभिजन लिग उपाधि

दुई खेल अगाबै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग उपाधि उचालेको छ। अन्तिम खेलमा रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० ले हराउँदै सातदोबाटोले उपाधि उचालेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ । ११ खेलमा २८ अंक जोडेको सातदोबाटो ए डिभिजन लिगमा बढुवा भएको छ। सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । खुमलटारले २५ अंक रह्यो । पुल्चोक स्पोर्ट्स क्लब लिगको पुछारमा रहँदै सी डिभिजनमा घटुवा भएको छ।

उपाधिसँगै सातदोबाटोले १५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा रहेको खुमलटारले १० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको बाँसबारीले ८ लाख र चौंथो भएको ब्वाइज युनियनले ५ लाख हात पारेका छन् ।

खुमलटारका सविन उत्कृष्ट स्ट्राइकर

लिगको दोस्रो स्थानमा रहेको खुमलटार युथ क्लबका सविन केसी बी डिभिजन लिगको उत्कृष्ट स्ट्राइकर बनेका छन् । टिमलाई उपाधि दिलाउन नसकेपनि उनको प्रदर्शन उच्च रहेको थियो ।

यस्तै च्याम्पियन टिम सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर बनेका छन् भने बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर र खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्‍यो। उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.