बी डिभिजन लिगः सातदोबाटोको पहिलो हार, पुल्चोकको पहिलो जित

काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा फरक खेलमा ललितपुरका दुई क्लब सातदोबाटो युथ क्लब र पुल्चोक स्पोर्टस क्लब मैदानमा उत्रिए। दुवै टिमले फरक अनुभाव गरे । दुई खेलअगावै ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले पहिलो हार बेहोर्दा पुल्चोकले पहिलो जित निकाल्यो।

लिगमा पहिलो हार ब्यहोर्ने क्रममा सातदोबाटो मध्यपुर युथ एसोसियसनसँग २–१ले पराजित भयो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक गोल गरे। सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काए।

२९औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता बनाएको थियो भने ५०औं मिनेटमा माल्डिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि ५८औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई २–१ को जित दिलाए।

लिगमा पहिलो जित निकाल्ने क्रममा पुल्चोक स्पोर्ट्स क्लबले रानीपोखरी कर्नर टिम (आरसिटी) २–१ ले हरायो । पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक गोल गरे भने आरसिटीका अमर डंगोलले एक गोल फर्काए।

खेलको पाँचौं मिनेटमा अर्जुनले गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा अमरले गोल गर्दै आरसिटीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि ७७ औं मिनेटमा किस्मतले गोल गर्दै पुल्चोकलाई २–१ को जित दिलाए ।

मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। १० खेलमा १३ अंक जोडेको मध्यपुर छैटौं स्थानमा छ। यस्तै जितपछि पनि पुल्चोक ५ अंकसहित पुछारमै छ भने १३ अंक जोडेको आरसिटी पाँचौं स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.