
साफ यू–१८ महिला च्याम्पियनसिप : बंगलादेशसँगको हारसँगै उपाधि जित्ने सम्भावना लगभग सकियो
लगातार दोस्रो हार बेहोरोसँगै साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना लगभग समाप्त भएको छ। भारतको जम्सेदपुरमा जारी प्रतियोगितामा नेपाल बंगलादेशसँग ४–२ले पराजित भयो।
तीन टिममात्र सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा आयोजक भारतसँग ७–०ले पराजित भएको थियो।
बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले गोल गरिन्। नेपालका तर्फबाट दीपा शाही र अमिशा कार्कीले गोल फर्काइन्।
पहिलो हाफमै ४-१ ले अघि रहेको बंगलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन। नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बंगलादेशसँगको धुरी घटाएको थियो।
दोहोरो राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ। जारी प्रतियोगितामा जितविहीन रहेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ।
भारत र बंगलादेशले भने समान ३ अंक जोडेका छन्। गोलअन्तरका आधारमा भारत शीर्षस्थानमा छ। यता, बंगलादेश दोस्रो स्थानमा छ। अब नेपालले मार्च २१ मा पुनस् भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ।