मेम्फिस डिपेको गोलमा बार्सा विजयी

स्पेनिस ला लिगाअन्तर्गत गेटाफेविरुद्धको खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले २–१ को जित हात पारेको हो।

बार्सिलोनाले दोस्रो मिनेटमै अग्रता लिँदै खेलमा आफ्नो पकड जमाएको थियो। जोर्डि अल्बाको असिस्टमा सर्जि रोबर्टोले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए।

तर, गेटाफेले खेलमा फर्किन धेरै समय कुरेन। सान्ड्रो रामिरेजले एलेनासँग बार्साको बक्समा वान–टु पास खेल्दै १८ यार्डबाट हानेको बल गोलमा परिणत भएपछि गेटाफेले १८औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो।

यसै सिजन फ्रि ट्रान्सफरमा बार्सा आएका मेम्फिस डिपेले बार्साको अग्रता पुनः कायम गरेका थिए। डि योङको एसिस्टमा ८ यार्डको दूरीबाट गोल गर्दै डिपेले घरेलु टिमलाई अग्रता दिलाएका थिए।

खेलको बाँकी समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि बार्सा २–१ ले विजयी भएको थियो। ला लिगाका सुरुवाती तीन खेलमा बार्साको यो दोस्रो जित हो। तीन खेलमा दुई जित र एक बराबरी गरेको बार्सा ७ अंकसहित चौथो स्थानमा उक्लिएको छ। तीनवटै खेल गुमाएको गेटाफे भने लिगको १९औं स्थानमा झरेको छ।

Facebook Comments Box