इल्चेमाथि बार्सिलोनाको कठीन जित

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। क्याम्प नेउमा शनिबार राति भएको खेलमा बार्सिलोनाले इल्चेमाथि ३–२को कठीन जित निकालेको हो। यो बार्सिलोनाको ५ खेलपछिको पहिलो जित हो।

खेलमा बार्सिलोनाका लागि तीन युवा खेलाडीले गोल गरे। उसका फेरान जुट्ग्ला, गाभी र निको गोन्जालेजले गोल गरे भने इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल फर्काए।

१६औं मिनेटमा ओसमाने डेम्बेलेको पासमा जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। १९औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्यायो। ६२औं मिनेटमा मोरेन्टेको गोलबाट खेलमा फर्किएको इल्चेका लागि ६३औं मिनेटमा मिल्लाले बराबरी गोल फर्काएका थिए।

निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा निको गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए। उनले गाभीको पासमा गोल गरेका थिए।

जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक जोडेर सातौ स्थानमा रहेको छ भने पराजित इल्चे १५ अंक जोडेर १६औं स्थानमा रहेको छ।

Facebook Comments Box