
ला लिगा : बार्सिलोना र एट्लेटिको विजयी
बार्सिलोनाले इल्चेमाथि पुनरागमन जित निकालेको छ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले इल्चेलाई २–१ गोल अन्तरले हराएको हो।
बार्सिलोनाको पुनरागमन जितमा सब्सिच्युट फरवार्डद्वय फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरे। घरेलु टोली इल्चेका फिडेल चाभेसको गोल सान्त्वना बन्यो।
खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६०औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको ८४ औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए।
डिपाएले क्रस गरेको बललाई एन्टोनियो बारागानले हातमा लागेको भन्दै पेनाल्टीको अपिल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो। जसमा डिपाएले गोल गरे।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकानलेको छ। आइतबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल बेटिसलाई ३–१ गोल अन्तरले हराएको हो।
खेलको दोस्रो मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ४५ औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याए।
खेलको ६१औं मिनेटमा फेलिक्सले नै व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २–१ को स्थितिमा पुर्याए। खेलको ८०औं मिनेटमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई ३–१ को जित दिलाए।
जितसँगै २६ खेलबाट ४५ अंक जोडेको बार्सिलोना लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित इल्चे ३२ अंक जोडेर १३ औं स्थानमा रहेको छ।
जितसँगै २७ खेलबाट ४८ अंक जोडेको एट्लेटिको अंक तालिकाको चौंथो स्थानमा रहेको छ। पराजित बेटिस ४६ अंक जोडेर पाँचौं स्थानमा छ।