साउल र कोस्टाको गोलमा एट्लेटिको मड्रिड विजयी

मिडफिल्डर साउल निगुइज र स्ट्राइकर डिएगो कोस्टाले गोल गरेपछि स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड विजयी भएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले अलाभेसलाई २–१ले हरायो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५९औं मिनेटमा साउलले केभिन ट्रिपियरको पासमा हेडिङ गोल गर्दै घरेलु टिमलाई सुरुवाती अग्रता दिलाए । ७३औं मिनेटमा एट्लेटिको पेनाल्टी पायो, सो अवसरलाई गोलमा परिणत गर्दै कोस्टाले टिमको अग्रता दोब्बर बनाए । खेलको इन्जुरी समयमा अलाभेसले पनि पेनाल्टीमा गोल गर्दै अग्रता घटायो । उसका जोसेलुले गोल गरेका थिए ।

खेलमा एट्लेटिकोले ७१ प्रतिशत बल पोजेसन बनाएको थियो । उसले अलाभेसको पोस्टमा १३ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, अलाभेसले भने ६ सट प्रहार गर्दा २ सट फ्रेममा थियो ।

जितसगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको यात्रामा ठुलो कदम चालेको छ । उसले अर्को सिजन च्याम्पियन्स लिग छनोटको दौडमा आफुलाई बलियो स्थितीमा पुर्याएको छ ।

जितसँगै एट्लेटिकोले ३२ खेलमा ५८ अंक जोडेको र ऊ तेस्रो स्थानमा छ । ३५ अंकका साथ अलाभेस १५औं स्थानमा छ । ६९ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा छ भने रियल मड्रिड ६८ अंकका साथ दोस्रो स्थानमा छ । रियलले १ खेल कम खेलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *