बार्सिलोना बराबरीमा रोकियो, एट्लेटिको विजयी

डिफेन्डिङ च्याम्पियन बार्सिलोना शनिबार राति भएको खेलमा रियल सोसिडाडसँग बराबरीमा रोकियो । सोसिडाडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीका बाबजुद पनि बार्सिलोना शीर्ष स्थानमै छ । उसले १६ खेलमा ३५ अंक जोडेको छ । एक खेल कम खेलेको रियल ३४ अंकका साथ दोस्रो स्थानमा छ । यदि आज राति हुने खेलमा रियलले भ्यालेन्सियालाई हराउन सके उ शीर्ष स्थानमा उक्लिने छ ।

खेलमा अग्रता सोसिडाडले लिएको थियो । उसमा मिकेल ओर्जाबालले १२औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । सर्जियो बुस्केट्सले सोसिडाडका लोरेन्टेलाईलाई तानेर लडाएपछि प्राप्त पेनाल्टीमा मिकेलले गोल गरेका थिए ।

तर, ३८औं मिनेटमा लुइस सुआरेजको पासमा एन्टोइन ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफमा १–१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले अग्रता लियो । ४९औं मिनेटमा कप्तान लियोनल मेसीको पासमा सुआरेजले गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो ।

६२औं मिनेटमा सोसिडाडले बराबरी गोल फर्कायो । उसका अलेक्साडर इसाकले गोल गरेका थिए । त्यसपछि खेलमा गोल हुन नसक्दा बार्सिलोना अंक बाँड्न बाध्य भयो ।

खेलमा अधिकांश समय सोसिडाडले बार्सिलोनालाई दबाबमा राखेको थियो । उसले बल पोजेसनमा पनि बार्सिलोनालाई पछि पारेको थियो । उसले ५४ प्रतिशत बल पोजेसन बनाउँदै बार्सिलोनाको पोस्टमा १९ सट प्रहार गरेको थियो, जसमध्ये ५ सट फ्रेममा थियो । यता, बार्सिलोनाले ९ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो ।

एट्लेटिको विजयी

स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले ओसासुनालाई २–० ले हरायो ।

पहिलो हाफमा बराबरीमा रोकिएको एट्लेटिकोले दोस्रो हाफमा २ गोल गर्दै जित निकाल्यो । खेलको ६७ औं मिनेटमा अल्भारो मोरटाले गोल गरेका थिए भने ७५औं मिनेटमा सउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई २–० को जित दिलाए ।

जितसँगै एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले १७ खेलबाट २९ अंक जोडेको छ । २३ अंक जोडेको ओसासुना १० औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP