
बालोन डे’ओर हलान्डलाई पिकेले दिए यस्तो सुझाव
जर्मन क्लब बोरुसिया डर्टमन्डका नर्वेजियन युवा स्ट्राइकर अर्लिङ हलान्डलाई भित्र्याउन युरोपका ठूला क्लबहरुले चासो देखाएका छन्। उत्कृष्ट फर्ममा रहेका २१ वर्षीय हलान्डलाई भित्र्याउन स्पेनिस जाइन्टद्वय रियलम मड्रिड र बार्सिलोना पनि चाहन्छन्।
सम्भवतः हलान्डले आगामी समरमा डर्टमन्ड छाड्ने छन् । तर, उनले क्लब भने ‘फिक्स’ गरिसकेका छैनन्।
ट्रान्सफरकै विषयलाई लिएर बार्सिलोनाका भेट्रान डिफेन्डर पिकेले हलान्डलाई बार्सिलोना आउन सुझाव दिएका छन्। करिम बेन्जिमा रिप्लेसका रुपमा हलान्डलाई भित्र्याउन रियल जोडतोडले लागेपछि पिकेले रियलको प्रस्ताव अस्वीकार गर्दै बार्सिलालो आउन सुझाएका छन्।
उनले भनेका छन्, ‘यदि बालोन डे’ओर जित्ने चाहना छ भने तिमी रियल होइन बार्सिलोना आऊ। तिम्रो चाहना पुरा गर्न बार्सिलोना नै उपयुक्त क्लब हो।’
पिएसजीको फ्रेन्च स्टार किलियन एमबाप्पे रियल आउने लगभग पक्का जस्तै छ। रिपोर्टहरु अनुसार एमबाप्पेले समरमा फ्रि ट्रान्सफरमा रियल आउन वार्षिक ५० मिलियन पाउनेगरी सहमति गरिसकेका छन्।
पिकेले एमबाप्पे भएको क्लबमा हालान्ड गए उनलाई बालोन डे’ओर जित्न निकै कठीन हुने बताएका छन्। त्यसैले पिकले रियललाई होइन बार्सिलोनालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्।
‘‘यदि, म हालान्ड हुन्थेँ भने म बालोन डे’ओर जित्न हरसम्भव कोसिस गर्थेँ,’ उनले भने, ‘यसैले पनि मैले एमबाप्पे हुने क्लबलाई प्राथमिकता दिने थिइनँ ।’
२१ वर्षीय हलान्डले डर्टमन्डका लागि ७९ खेलमा ८० गोल गरेका छन् भने नर्वेका लागि १५ खेलमा १२ गोल गरेका छन्।